काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई/मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) अर्थात् सुरुङ र पुलैपुलको सडक । ७०.९७७ किमी लामो फास्ट ट्रयाकको झण्डै एकतिहाई (३३.६२ प्रतिशत)खण्डमा सुरुङ र पुल निर्माण भइरहेका हुन् ।
फास्ट ट्रयाकमा सुरुङ र पुलको कुल लम्बाइ २३. ८६४ किलोमिटर रहेको छ । जसमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरुङ र १२.८८५ किमी लम्बाइका ८९ वटा पुल निमार्ण भइरहेका छन् ।
फास्ट ट्रयाकको कुल लम्बाइमा पुलको मात्रै हिस्सा १८.१५ प्रतिशत रहेको छ । औसतमा हरेक ७९७ मिटरमा एउटा पुल बनिरहेको छ ।
यस सडकमा विदेशका जस्तै आकर्षक र आधुनिक पुल निर्माण भइरहेका हुन् । फास्ट ट्रयाकमा ठूला नदी नभए अग्ला डाँडा र गहिरो खोँच रहेकाले दूरी छोट्याउन अग्ला पुल निर्माण गरिएको हो । यो सडक अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको एक्सप्रेस वे हो । त्यसैले द्रुत गतिमा सवारी चलाउन मिल्ने गरी घुमाउरो र गहिरो ठाउँमा अग्ला र लामा आधाुनिक पुल निर्माण भइरहेको हो ।
नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतले फास्ट ट्रयाकमा ८९ वटा पुल निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार सबै पुलको ठेक्का लगाइ धमाधम काम भइरहेको हो ।
‘फास्ट ट्रयाकमा ८९ वटा पुल निर्माण भइरहेका छन् । ८५ वटाको ठेक्का लगाइसकिएकाे छ । खाेकना खण्डका ४ वटा पुलकाे मात्रै ठेक्का लाग्न बाँकी छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार ८९ पुलमध्ये हालसम्म ९ वटा निर्माण सम्पन्न भइसकेका छन् ।अधिकांश पुलको फाउन्डेसनको काम सकी हाल सुपरस्ट्रक्चरको काम भइरहेको उनले बताए । ‘ठेक्का लाग्न बाँकी चार बाहेक अधिकांश पुलको फाउन्डेसनको काम सकिएको छ । पिलर ठड्याइसकिएको छ । सुपरस्ट्रक्चरको काम धमाधम भइरहेको छ,’ उनले भने ।
फास्ट ट्रयाकमा निर्माण हुने अग्ला पुलले सडकको दूरी र यात्रा अवधि छोट्याउनुका साथै, पहिरोको जोखिम कम गरी वातावरणीय क्षति घटाउने उनको भनाइ छ ।
चार लेनको फास्ट ट्रयाकको पहाडी क्षेत्रको हरेक स्थानमा समानान्तर पुल निर्माण भइरहेका छन् । अधिकांश ठाउामा जाने र आउने सवारीका लागि छुट्टाछुट्टै २/२ लेनको पुल निर्माण गरिएको हो । फास्ट ट्रयाकमा निर्माण भइरहेकका पुल १०० वर्षभन्दा धेरै टिक्ने गरी बनाइएको छ ।
यी ठाउँमा बन्दैछन् ४० मिटर अग्ला पुल
फास्ट ट्रयाक काठमाडौं, ललितपुर मकवानपुर र बारा गरी चार जिल्लामा पर्दछ । जसमा मकवानपुरखण्डको भू वनोट अग्ला पहाड र गहिरो खोँच रहेको छ । अधिकांश अग्ला पुल मकवापुरखण्डमै निर्माण भइरहेको हो ।
सूचना अधिकारी बस्नेतका अनुसार मकवानपुरको बकैया र भीमफेदी गाउँपालिकाका विभिन्न ठाउँमा ४० मिटर अग्ला १० वटा पुल निर्माण भइरहेका छन् ।
बकैया गाउँपालिका-११ लेनडाँडामा फास्ट ट्रयाककै अग्लो पुल निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । धेद्रे र लेनडाँडा सुरुङलाई जोड्न जितपुर खोलामाथि ८२ मिटर अग्लो पुल अन्तिम चरणमा पुगेको हो । यो पुल २४५ मिटर लामो छ । यो पुलको उचाइ झण्डै धरहराको जत्ति नै हो । धरहराको जमिनदेखि गजुरसम्मको उचाइ ८३.८५ मिटर अग्लो छ । यो पुलको सुपरस्ट्रक्चर काम लगभग सकिन लागेको उनले बताए । अहिले रेलिङ राख्ने काम भइरहेको उनको भनाइ छ ।
मकवानपुरको भीाफेदी गाउँपालिका-महादेवटारमा ६८ मिटर अग्लो ४०४ मिटर लामो र ४१ मिटर अग्लो ४३० मिटर लामो पुल निर्माण भइरहेको छ । यी दुवै पुलको सुपर स्ट्रक्चरको काम सकी पियरको निर्माण भइहरेको छ ।
त्यस्तै, धेद्रे सुरुङतर्फ जाने चालिसे खोलामाथि निर्माण गरिएका दुवै पुल सम्पन्न भइसकेका छन् । बकैया गाउँपालिका-११ लेनडाँडामै ५४.१५ र ४३.५ मिटर अग्लो पुल निर्माण सम्पन्न भइसकेको उनले बताए । यी पुलको लम्बाइ क्रमशः ३३३ मिटर र २७० मिटर छ ।

त्यसैगरी, बकैया गाउँपालिका-२ सरस्वतीगाउँमा ४१ मिटर अग्लो ४२५ मिटर लामो पुल निर्माणाधीन छ । यसको डेक स्ल्याब (गाडी गुड्ने सतह) निर्माण भइरहेको छ । त्यस्तै, सोही ठाउँमा २५० मिटर लामो ४२ मिटर अग्लो पुल निर्माण भइरहेको छ । यसको पियर निर्माणको चरणमा रहेको उनले बताए ।
त्यसैगरी, बकैया गाउँपालिका-५, दहिदमारमामा ४९ उचाइको २४० मिटर लामो पुल बनिरहेको छ । यसको पायरको काम सकिएको उनले बताए । सोही ठाउँमा ४५ मिटर उचाइको ५३० मिटर लामो पुल निर्माण सुरु गरिएको छ । यसको पाइलको काम सुरु भएको छ ।
त्यस्तै, मकवानपुको भीमफेदी-८ सिस्नेरीमा ५५ मिटर अग्लो पुल बन्दैछ । ५८० मिटर लामो यो पुलको पाइल निर्माणको काम भइरहेको उनले बताए ।
फास्ट ट्रयाकमा बनिरहेका अग्ला पुल हाल सामाजिक संजालमा समेत भाइरल बनिरहेका छन् ।
कुल ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकलाई समष्टिगत कार्ययोजना अनुसार १३ वटा प्योकजमा छुट्याइएको छ । जसमा १२ प्याकेजको ठेक्का लागेर धमाधम काम भइरहेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । प्रस्थान बिन्दु खोकना-डुकुछाप (प्याकेज नं. ११) खण्डको ठेक्का लाग्न बाँकी रहेको उनले बताए । यसखण्डमा स्थानीयको विरोध र मुआब्जा विवादका कारण ठेक्का लागन नसकेको हो । स्थानीयले प्रस्थान बिन्दु नै सार्नुपर्ने माग राख्दै आएका छन् ।

