नागढुंगा सुरुङमार्ग संचालन गर्न १० कम्पनीकाे आवेदन, छनोट गर्न २ महिना लाग्ने

काठमाडौं । नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनका लागि १० कम्पनीले आवेदन दिएका छन् ।

आयोजनाले आह्वान गरेको ग्लोबल टेन्डरमा आवेदन दिने अन्तिम मिति पुस ३० गतेसम्म १० कम्पनीले बोलपत्र पेश गरेका हुन् ।

सुरुङमार्ग संचालन गर्न ६ चिनियाँ, ३ भारतीय र टर्कीको एउटा कम्पनी इच्छुक देखिएका हुन् । १० वटै विदेशी कम्पनीले नेपाली कम्पनीसँग ज्वाइन्ट भेन्चर गरेर आवेदन दिएका हुन् ।

आयोजनाका इन्जिनियर सञ्जय पन्थीले ५ वर्षका लागि सुरुङमार्ग संचालन गर्न १० ज्वाइन्ट भेन्चर कम्पनीले आवेदन हालेको जानकारी दिए ।

उनका अनुसार आवेदन दिने कम्पनीहरूमा सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट-स्वच्छन्द निर्माण सेवा जेभी, काष्ठमाण्डप/गान्सु हेङटोङ जेभी, केएसएनएस-अल्टिंनको-बीसीपीएल जेभी, एसएक्सआरबी-ब्राइट बुल जेभी, जेटीसीजी-डाँफे जेभी, बाबरी कन्स्ट्रक्सन/टनेल टेक सोलुसन जेभी रहेका छन् ।

त्यस्तै, ईएमएसएल/पशुपति शिवजी कन्स्ट्रक्सन जेभी, समानान्तर/चाइना फ्स्ट हाइवे इन्जिनियरिङ, चोङक्विङ युक्सिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट/एआरटी कन्स्ट्रक्सन, र वेदांशी इन्फ्रास्क्चर/ रानकेन रेलवे कन्स्ट्रक्सन ग्रुप जेभी सुरुङमार्ग संचालन गर्न इच्छुक देखिएका हुन् ।

उनका अनुसार अब आवेदक कम्पनीहरूको प्राविधिक मूल्यांकन सुरू हुनेछ । यसका लागि करिब १ महिना लाग्ने उनले बताए । प्राविधिक मूल्यांकबाट कम्पनीहरू छनोट भएपछि आर्थिक प्रस्ताव खोलिने उनले बताए ।  सबै प्रक्रिया सकी कम्पनी छनोट गर्न कम्तीमा दुई महिना लाग्ने उनको भनाइ छ ।

‘नागढुंगा सुरुङमार्ग संचालन गर्न १० जेभी कम्पनी इच्छुक देखिएका छन् । अब प्राविधिक मूल्यांक सुरू हुन्छ । प्राविधिक मूल्यांकनमा छनोट हुने कम्पनीहरू आर्थिक प्रस्ताव खोलिन्छ । जसले सबैभन्दा कम रकम प्रस्ताव गरेको छ । उही छनोट हुन्छ । यी सबै प्रक्रिया सम्पन्न गरी कम्पनी छनोट गर्न करिब २ महिना लाग्छ,’ उनले मेरोअटोसँग भने ।

आयोजनाले सेवा प्रदायक छनोटका लागि गत कात्तिक १६ गते ग्लोबल टेन्डर आह्वान गर्दै पुस २ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो । इच्छुक कम्पनीहरूले थप समय माग र  बोलपत्र सम्बन्धी कागजातमा संशोधन गरिएपछि दुईपटक म्याद थपेर ३० गतेसम्म आवेदन दिने लम्ब्याइएको थियो ।

सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत संचालनका लागि अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।

नेपालकै पहिलो यस सुरुङमार्ग निर्माणको काम सकिएको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण संचालनमा आउन सकिरहेको छैन ।

सुरुङ २४ सै घण्टा संचालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

सुरुङ संचालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहने छन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ ।


Back_to_top