नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड

काठमाडौं । नेपालको मोटर स्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ, फेडेरेसन इन्टरनेशनल दी मोटरसाइकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

स्पेनको तटिय पर्यटकीय सहर पालमा मालोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थीमलाई सो अवार्ड प्रदान गरिएको छ ।

सन् २०२४ का सम्पुर्ण अन्तर्राष्ट्रिय इभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्दै आएको छ । जहाँ वुमन ईन मोटरिङ ईन नेपालका लागि एफआईएम वुमन अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड वितरण गरिएको छ ।

विश्वको एकमात्र मोटरसाईकल फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागीता रहेको थियो ।

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईलाई एफआईएम वुमन ईन मोटोसाइक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् ।

नेपाली खेलकुदको केन्द्रीय संघमा पहिलो एक तिहाई महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाइकलमार्फत महिला शसक्तिकरणको अभियान चलाएको, रेसिङ्ग, र्याली र रोड सेफ्टिमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गरेको, संघका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जनाएका छन् ।

अधिकांश खेलकुद महासंघका एजेण्डामा पश्चिमा देशहरुको नेतृत्व रहिरहेको समयमा टू ह्विल टुरिङ, वुमन ईन मोटरिङ र रोड सेफ्टी जस्ता विषयमा नेपाली खेल संघ नासा नेपालको भुमिका प्रशंसनीय मानिएको छ ।


Back_to_top