काठमाडौं । विश्वको प्रमुख हवाई सेवाप्रदायक कम्पनी फ्लाइ दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न इच्छुक देखिएको छ ।
फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटवार्तामा आफूहरू पोखरामा उडान भर्न इच्छुक रहेको बताएका हुन् ।
छलफलमा पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्ने, दुबई र पोखरा बीच पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्ड लगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताएको महानगर प्रमुख आचार्यले जानकारी दिए । उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाई दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए।
विमानस्थलको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएको उनको भनाइ थियो।
नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि निरन्तर पहल गरिरहेको बताए । उनले दुई देशबीचको पर्यटन आदानप्रदानमा सीधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सोका लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे।
चीनको ऋण सहयोगमा २२ अर्ब बढी लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनमा आउन सकेको छैन । २०७९ पुस १७ गते उद्घाटन भएको यो विमानस्थल आन्तरिक उडानमै सीमित छ । हालसम्म केही चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।


