समाज बदल्ने एउटा कार कम्पनी, जसले अमेरिकी जनतालाई मध्यम बर्गमा उकाल्यो

काठमाडाैं । मानव समाजको विकास र प्रविधिबीच अन्योन्याश्रित सम्बन्ध रहिआएको छ । मान्छेले हमेसा आफू वरपरको भौतिक संसारलाई वंशमा राख्नका लागि अनुसन्धान गर्ने र विभिन्न वस्तु र उपकरणहरूको आविष्कार गर्ने गरेको छ । 

मान्छेले गरेको सबैभन्दा ठूलो र महत्वपूर्ण आविष्कार के हो भन्नेबारेमा प्रशस्त वहस र छलफल भए पनि केही त्यस्ता उपकरणहरूको नाम भने सहजै लिन सकिन्छ । तीमध्ये एक हो, पाङ्ग्रा ।

विगत ११० वर्षदेखि एकै परिवारको नियन्त्रणमा रहेको यो कम्पनी सन् २००७ को पछिल्लो आर्थिक मन्दीमा भने आफ्ना ‘लक्जरी’ ब्राण्डहरू भोल्भो, ल्याण्डरोभर, ज्यागुअर, एस्टन मार्टिन बेच्न बाध्य भयो । 

पाङ्ग्राको आविष्कार इसापूर्व ३५०० ताका ‘मेसोपोटामियन’-हालको पश्चिमी एसिया–क्षेत्रमा बसोबास गर्ने मानिसहरूले माटोको भाँडाकुँडा बनाउने क्रममा गरेका थिए । त्यसको करिब ३ सय वर्षपछि भने पाङ्ग्रा रथको चक्काको रुपमा प्रयोग हुनथालेको थियो । 

यही ऐतिहासिक पृष्ठभूमिबाट गुड्दै-गुड्दै पाङ्ग्रा २१ औँ शताब्दीका मानिसहरूको दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । यसैबीच, मानव सभ्यता पनि यही पाङ्ग्रा चढेर यातायात/ब्यापार आदि क्षेत्रको विकासको उच्चतम विन्दुमा पुगिसकेको छ ।

एक उदाहरण

सन् १९१४ मा एक कम्पनीले आफ्ना कामदारहरूलाई दैनिक ५ डलर ज्याला दिने निर्णय ग¥यो, जुन उक्त समयको चलनचल्तीको ज्यालाभन्दा दोब्बर थियो । साथै, कामदारको दैनिककार्य समय ९ घण्टाबाट ८ घण्टामा झारिएको थियो । उक्त निर्णयपछि कम्पनीमा जागिर खानका लागि करिब १० हजार मानिस ढोकामा लाम लागेका थिए ।

पट्यारलाग्दो, एकोहोरो र अथक शारीरिक श्रमको माग गर्ने काम भए पनि त्यो निर्णयपश्चात् कम्पनीबाट जागिर छाड्ने कामदारको संख्यामा ठूलो गिरावट आएको थियो ।

बढेको ज्यालाले कामदारको जीवनस्तर माथि उकास्यो । र, ८ घण्टाको ‘सिफ्ट’मा काम गर्ने भएकाले कम्पनीमा दैनिक ३ सिफ्टमा काम हुनथाल्यो । बढेको ज्याला, घटेको कार्यसमय र उकासिँदै गरेको जीवनस्तरले तत्कालिन अमेरिकी समाजको ठूलो हिस्सालाई मध्यमवर्गमा उकाल्यो । 

अमेरिकी समाजमा यस्तो व्यापक परिवर्तन ल्याउन सघाउने उक्त कम्पनी थियो, गाडी निर्माता कम्पनी ‘फोर्ड’ । ‘फोर्ड’, ‘गो फर्दर’ अर्थात् अगाडितर्फको यात्रा ।

फोर्डको यात्रा भने सन् १८९६ मा सुरु भएको हो, जब हेनरी फोर्डले चारवटा पाङ्ग्रा भएको साइकल बनाए । त्यो साइकललाई ऊर्जा भने चारवटा हर्सपावर इञ्जिनबाट दिइएको थियो । 

घोडाको सट्टा इञ्जिनको सहायताले गुड्ने सवारी बनाएका ३२ वर्षीय हेनरी फोर्डले सो सवारीको नाम ‘क्वाड्रीसाइकल’ राखेका थिए । त्यो सानो सवारीको सफलताले नै निर्माता हेनरी फोर्डलाई ‘हेनरी फोर्ड कम्पनी’ हुँदै सन् १९०३ मा ‘फोर्ड मोटर कम्पनी’ लाई जन्म दिन प्रेरित ग¥यो ।

१ हजार कित्ता सेयर र १२ जना लगानीकर्ताको २८ हजार अमेरिकी डलरको लगानीबाट सुरु भएको फोर्ड मोटर कम्पनीले सन् १९०३ को जुलाई महिनामा ‘फोर्ड मोडल ए’ गाडी बिक्री गरेको थियो । सोही वर्षको अक्टोवर महिनामा कम्पनीले ३७ हजार डलर नाफा गरेको थियो ।

त्यसपछि तिब्र गतिमा अघि बढेको कम्पनीले सन् १९२७ मा उत्पादन बन्द गर्नुअघि ‘फोर्ड टी’ मोडलको १ करोड ५० लाखवटा गाडी बिक्री गरेको थियो । सो गाडीलाई अहिले पनि विश्वकै चर्चित गाडीको रुपमा लिइन्छ । 

फोर्डको यात्राको अर्को महत्वपूर्ण कोशेढुङ्गा भनेको सन् १९१७ मा निर्माण सुरु भएर सन् १९२७ मा सम्पन्न भएको ‘रिभर रोउग कम्प्लेक्स’ नामको संयुक्त कारखाना हो । सन् १९३० मै १ लाखभन्दा बढी कामदारलाई रोजगारी दिएको सो कारखाना विश्वकै ठूलो कारखाना थियो । गाडीका साथै सो कारखानाले सीसा, रबर, टायर आदिको उत्पादन तथा प्रशोधन गर्दथ्यो ।

गाडीका अलावा ‘रिभर रोउग कम्प्लेक्स’ले ट्रक, डुङ्गा र हवाइजहाजको इञ्जिनको समेत निर्माण गरेको थियो ।

फोर्डले विश्वयुद्ध लडेका घाइते सिपाहीहरूलाई समेत रोजगारी दिएर फरक क्षमता भएकालाई रोजगारी दिने विश्वकै पहिलो कम्पनीसमेत बनेको थियो । 

विश्कै ठूलो र धेरै नाफा कमाउने कम्पनीको रुपमा रहेको फोर्डले सन् १९३० को विश्वव्यापी आर्थिक मन्दीको समेत सामना गरेको थियो । विगत ११० वर्षदेखि एकै परिवारको नियन्त्रणमा रहेको यो कम्पनी सन् २००७ को पछिल्लो आर्थिक मन्दीमा भने आफ्ना ‘लक्जरी’ ब्राण्डहरू भोल्भो, ल्याण्डरोभर, ज्यागुअर, एस्टन मार्टिन बेच्न बाध्य भयो । 

समग्र मानव समाजलाई गति दिन र यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान दिएको फोर्ड विकासक्रमको विभिन्न चरणमा विवादमुक्त भने रहेन । 

युनियनका नेताहरूलाई धम्क्याउने, अनैतिक काम गरेर नाफा बढाउन केन्द्रित हुनेजस्ता आरोपहरू कम्पनीलाई लाग्ने गरेका थिए । 

विभिन्न मोडलका गाडीहरूमा जडान गरिएका कमसल टायरहरूका कारण धेरै दुर्घटनाहरू भएको र सन् २००० ताका झन्डै २ सय ५० जनाको ज्यान गएको आरोप पनि कम्पनीमाथि लाग्ने गरेको छ । 

यसका बावजूद कम्पनी विश्वका १० ठूला सवारीसाधन निर्माता कम्पनीमा परिरहेको छ ।


Back_to_top