नुवाकोट र रसुवाका २२८ मेगावाट विद्युत समयमा ल्याउन मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा २२८.३ मेगावाटका आयोजनाको निर्माण धमाधम भइरहेको छ । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुने छन् । 

नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिसूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण धमाधम भइरहेको हो । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले  शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरी निर्माणाधीन आयोजनाको काम तोकिएको समयभन्दा अगाडिनै सम्पन्न गर्न निर्देशन दिएको छ । 

टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिएका थिए । 

‘सबै आयोजनामा तोकिएकै समयमा निर्माण सकिन्छ तर यसका लागि यस्तो त्यस्तो हुनु पर्छ भन्ने गरेको पाइन्छं’, उनले भने भयो, ‘अब तर भन्न पाइदैन, आयोजनास्थलका समस्या यहीं समाधान गर्नु होस्, मन्त्रालय तहबाट समाधान गर्नु पर्ने समस्या भए भन्नुहोस् त्यसलाई तत्काल समाधान गर्न हाम्रो टिम सधैं तयार छ, तालिककाअनुसार नै काम सकी नमुना आयोजनाको रुपमा अगाडि बढाऔं ।ं’ 

नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिसूली ३ एको निर्माण वैशाख ०७६ (३० अप्रिल २०१९)भित्र सक्ने लक्ष्य राखिएको छ । 

आयोजनाले निर्माण गरिहेको त्रिसुली ३ ए–मातातिर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै सुरु गर्न नसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताउनु भयो । लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)लाई जिम्मा दिइरहेको छ । 

समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्प लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । अहिले ठेकेदार कम्पनीको काम विगतमाभन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले बताए । 

रसुवागढीको समग्र निर्माण  प्रगति ६० प्रतिशत छ । आयोजनाले मिति २०७६ साल पुस १५ देखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । 

आयोजनाका विद्युत जोड्नका लागि चिलिमे हव–त्रिसुली ३ बी प्रसारण लाइन हवको निर्माण हुनु पर्छ । रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत खेर आउन नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने अवस्था रहेको बताए । 

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश: ७०/६० प्रतिशत छ । सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताए । 

प्रसारण लाइनको निर्माण गर्न सरकारी जग्गा र बन क्षेत्रको रुख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झण्झटिलो रहेको उनले जानकारी गराए । 

आयोजनाले विद्युत गृहबाट चिलिमे हवसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनु पर्छ । 

माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढिउनु पर्ने रहेकोले उक्त प्रशारण लाईन निर्माण हुने अबधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी निर्माण कार्य अगाडी बढाईएको आयोजनाले जनाएको छ । 


Back_to_top