काठमाडौं । विश्व बजारमा ईभीको जति चर्चा छ, अपवाद बाहेक अधिकांश इलेक्ट्रीक गाडी बनाउने कम्पनीहरू घाटामा गएको देखिएको छ । बजारमा आएको ईभीको उछालका कारण इलेक्ट्रीक मोडल बनाइरहेका स्थापित कम्पनीहरूको पनि ईभी प्रोजेक्ट भने घाटामा गएको खबरहरू बाहिरिएको छ ।
अमेरिकी स्थापित अटोमोबाइल कम्पनी फोर्डले पनि पछिल्लो समयमा बढ्दैै गएको घाटा धान्न नसकेर ईभीमा लगानी कटौती गर्ने भएको छ । कम्पनी तेस्रो क्वाटर रिपोर्टमा ईभीमा बढ्दो घाटा स्पष्ट रूपमा बाहिर आएको हो । फोर्डका अनुसार ईभीको मागमा आएको गिरावट तथा टेस्लाले सुरू गरेको प्राइसवारका कारण ईभी प्रोजेक्ट ठूलो लसमा गएको हो ।
फोर्डको तेस्रो क्वाटरमा ईभी बिजनेशमा १.३ बिलियन डलरको घाटा भएको छ । कम्पनीको अघिल्लो क्वाटरमा यस्तो घाटा १.१ बिलियन डलरको रहेको थियो । फोर्डको यो घाटा अघिल्लो वर्षको तेस्रो क्वाटरको तुलनामा दोब्बरले बढेको हो ।
फोर्डले तेस्रो क्वाटरमा २० हजार ९६२ यूनीट ईभी बिक्री गरेको छ । फोर्डको ईभी बिक्रीमा मस्टाङ म्याकईको विशेष भूमिका रहेको छ । फोर्डको बिक्री अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत वृद्धि भई १.८ बिलियन डलर पुगेको छ ।

एक अध्ययनका अनुसार फोर्डले प्रत्येक ईभीको बिक्रीमा ३६ हजार अमेरिकी डलर घाटा व्यहोरिरहेको बताइएको छ । उक्त घाटा अघिल्लो क्वाटरसम्म ३२ हजार ३५० प्रति भेहिकल रहेको थियो ।

