काठमाडौं । यामाहा र बजाज नेपालमा निकै सफल मोटरसाइकल ब्राण्ड हुन् । यामाहाले पछिल्ला वर्षहरुमा सबैभन्दा धेरै बिक्री गर्ने मोडल एफजेडएस भी–३ हो ।
त्यस्तै बजाजले सबैभन्दा धेरै पल्सर १५० बिक्री गरेपनि नयाँ आएको एन–१६० मूल्यको कारण यामाहा एफजेडएससँग सिधा प्रतिस्पर्धी हो । यस्तोमा यदि तपाई पनि दशैंमा नयाँ मोटरसाइकल किन्ने योजना हुनुहुन्छ र यी दुई मध्ये एक कुन किनौं भन्ने दुविधामा हुनुहुन्छ भने हामी तपाईलाई सहयोग गर्न सक्छौं ।
मूल्यमा खासै भिन्नता नभएका यी दुई मोडलमा इन्जिन र फिचरमा भने फरक पाउन सकिन्छ । त्यसैले तपाईको आवस्यकता छुट्टाउन सहज होस् भनेर बजाज एन १६० र यामाहा एफजेडएस भी–३ बीच रहेका भिन्नता केलाउने प्रयास गरेका छौं ।
यी दुबै राम्रा मोडलका बीच पनि धेरै भिन्नता भएको र चाडपर्वको मुखमा कम्पनीहरुले स्कीमसमेत चलाइरहेको समयमा हामीले तपाईहरुलाई सजिलो बनाउने प्रयास गरेका हौं ।
स्कीम
दशैंको लागि दुबै ब्राण्डले स्कीम दिएका छन् । बजाजले आम्मामा स्कीम चलाई रहेको छ । यस स्कीममा बजाज मोटरसाइकल किन्नेले डिजिटल टोकन मार्फत क्यास ब्याक जित्न सक्नेछन् । ग्राहकले पाउने डिजिटल टोकनमा जति रकम हुन्छ, त्यसको २५ गुणा नगद छुट दिने कम्पनीले जनाएको छ । यस आम्मामा स्कीममा ग्राहकले धेरैमा २ लाख ५० हजार रुपैयाँसम्म जित्न सक्नेछन् ।
यामाहाका मोटरसाइकल किन्नेलाई ‘यामाहा फेस्टिभ सेलिब्रेसन एण्ड रोडिज पावर अफ फाइभ अफर’ दिइएको छ । यस स्कीममा यामाहाको मोटरसाइकल खरिद गर्दा ८ हजारदेखि १ लाखसम्म नगद छुट ग्राहकले पाउने छन् । त्यस्तै, लक्की ड्रमार्फत राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन १४ र प्रत्येक महिना एक जना भाग्यसाली बिजेतालाई जापान भ्रमणमा पठाउने छ ।
इन्जिन
बजाज पल्सर एन १६० मा १६४.८२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एसएचआसी, टू भल्ब, ट्वीन स्पार्क, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १६ ब्रेकहर्स पावर र १४.६५ एनएम टर्क जेनेरेट गर्छ ।
त्यसैगरी, यामाहा एफजेडएस भी ३ मा १४९ सीसी क्षमताको एयर कुल्ड, फोर स्ट्रोक, टू भल्ब, एसओएचसी, एफआई इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १२.४ ब्रेकहर्स पावर र १३.३ एनएमको टर्क प्रदान गर्छ । दुबैमा पाँच स्पीडको गियरबक्स छ ।
सस्पेन्सन र ब्रेक
यामाहा एफजेडएस भी ३ मा अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि सात स्टेपको एड्जस्टेवल मोनोक्रस सस्पेन्स दिइएको छ । यसमा १७ इन्चको अलोय ह्वीलको साथमा दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।
पल्सर एन १६० मा पनि दुबै चक्कामा डिस्क ब्रेक छ । यसमा पनि १७ इन्चको ह्वील पाउन सकिन्छ । तर, यसमा ड्यूल च्यानल एबीएस रहेको छ । पल्सर एन १६० को अगाडिमा ३७ एमएमको टेलिस्कोपीक सस्पेन्सन र पछाडि नाइट्रोक्स मोनोसकसँगै ट्यूवलेस टायर पाउन सकिन्छ ।
फिचर
दुबै मोटरसाइकल सेग्मेन्टमा फिचर लोडेड मोडल हुन् । यामाहा एफजेडएस भी ३ मा एलइडी हेडलाइट, साइनी क्रोम, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, वाइडर सीट, यामाहा एक्स कनेक्ट पाउन सकिन्छ । यामाहा एक्स कनेक्टको प्रयोगबाट ई–लक, मोटरसाइकल पार्किङ स्थान, हजार्ड लाइट जस्ता सुविधा प्रयोग गर्न सकिन्छ ।
बजाजले पल्सर एन १६० मा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरबेली एग्जस्ट, युएसबी चार्जिङ पोर्ट, विन्ड स्क्रिन, डिजिटल ओडोमिटर र स्पीडोमिटर जस्ता फिचरहरु दिएको छ ।
मूल्य
बजाजका लागि नेपालको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले पल्सर एन १६० को मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ राखेको छ । त्यस्तै एमएडब्लू इन्टरप्राइजेजले बिक्री गरिरहेको यामाहा एफजेडएस भी–३ को मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
पावर, फिचर र सुरक्षामा एफजेड भी–३ भन्दा पल्सर एन १६० मजबुद देखिन्छ । तर, मूल्य भने यामाहाको बढी छ ।

