नेपालमा यामाहाको पछिल्लो ‘गेमचेन्जर’

काठमाडौं । यामाहाले दुई वर्ष अगाडि नेपाली बजारमा ल्याएको एफजेडएस भि थ्री ‘गेमचेन्जर’ मोडलको रुपमा स्थापित भएको छ । यसको आगमनसँगै उच्च विक्रीले यामाहालाई आफ्नो बजार हिस्सा बढाउन सहयोग पुगेको हो ।

यामाहाको कुल मोटरसाइकल विक्रीको करिब ४० प्रतिशत हिस्सा एफजेडएस भि थ्रीको रहेको छ । योसँगै १५० सीसी सेग्मेन्टमा पल्सर १५० पछि सर्वाधिक विक्री हुने मोटरसाइकल भएको छ ।

बजारमा यसको उच्च मागसँगै मूल्यपनि उच्चदरमा बढ्दै गएको देखिन्छ । दुई वर्षअघि पहिलो पटक नेपाल आउँदा एफजेडएस भी ३ को मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो । अहिले यसको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।

दुई बर्षको अवधिमा यो मोटरसाइकलको मूल्य २० हजार रुपैयाँले वृद्धि भएको हो । १५० सीसी सेग्मेन्टमा एबीएस र एफआई इन्जिनसहित आएको एफजेडएस भि थ्री पहिलो मोटरसाइल भएकोले धेरै युवाको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाई छ ।

यामाहाको लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले विक्री गरिरहेको यो मोटरसाइकलमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ । दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ ।


Back_to_top