काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप जिलीले आफ्नो ‘एजिस गोल्ड ब्रिक’ ब्याट्रीमा ठूलो प्रविधिक परिमार्जन गरेको छ । कम्पनीको नयाँ ब्याट्रीको लाइफ १० किलोमिटरभन्दा बढी भएको बताइन्छ ।
एजिस गोल्ड ब्रिक ब्याट्रीको लाइफ ४५०० पूर्ण चार्ज-डिस्चार्ज साइकल रहेको छ । कम्पनीले तीव्र गतिमा चार्जिङ, लामो आयु र नयाँ चार्जिङ प्रविधिमा कीर्तिमान कायम गरेको हो ।
कम्पनीले गरेको दाबी अनुसार एजिस गोल्ड ब्याट्रीले १०९३ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गरेको हो । योसँगै अर्को चिनियाँ ब्राण्ड बीवाइडीलाई जिलीले कडा चुनौती प्रस्तुत गर्ने भएको छ ।
चाइना अटोमोटिभ टेक्नोलोजी एण्ड रिसर्च सेन्टरको प्रत्यक्ष निगरानीमा गरिएको प्रमाणीकरण परीक्षणमा जिलीको नयाँ सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्रीले उक्त सफलता पाएको हो । जिलीका अनुसार नयाँ ब्याट्री प्याक ९०० भोल्ट आर्किटेक्चरमा आधारित छ ।
कम्पनीले उच्च क्षमताको चार्जिङका क्रममा उत्पन्न हुने तापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न उन्नत किसिमको थर्मल म्यानेजमेन्ट सिस्टम दिएको छ । यसले तिब्र गतिमा ब्याट्री चार्ज गर्दा ब्याट्रीको आयु घट्ने जोखिम कम गर्ने दाबी गरिएको छ ।
ठूलो चार्जर प्रयोग गर्दा जिलीको नयाँ ब्याट्रीको तापक्रम ६४ डिग्री पुगेको थियो । जुन चीन सरकारको नीति ६५ डिग्रीभन्दा कम हो । तापक्रम कन्ट्रोल गर्न ब्याट्रीमा दुईतर्फी थ्रीडी लिक्विड कुलिङ सिस्टम दिइएको छ ।
जिलीका अनुसार नयाँ ब्याट्री लिङ एण्ड को १० प्लेटफर्मका विद्युतीय कारमा प्रयोग हुनेछ । यो ब्याट्री १० प्रतिशतबाट ७० प्रतिशत पुग्न ४.२२ मिनेट लाग्छ । परीक्षणको क्रममा १० बाट ९७ प्रतिशत चार्ज पुग्न ८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।
कम्पनीको दाबी अनुसार हरेक सेकेण्ड चार्ज गर्दा दुई किलोमिटर गुडाउन पुग्ने ब्याट्री रिचार्ज हुन्छ । यसले लामो दुरी यात्रा गर्नु पर्ने व्यक्तिको समय बचतमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिलीको धारणा छ ।
केही महिना अगाडि बीवाइडीले १५०० किलोवाट फ्ल्यास चार्जिङ सिस्टम विकास गरेको थियो । जिलीले भने तीव्र गतिको चार्जर सपोर्ट गर्ने क्षमतामा सुधार गराएको हो ।


