काठमाडौं । जिली मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी ‘स्टारसिप सेभेन’ तयार पारेको छ । कम्पनीले चिनियाँ सरकारी निकायमा अप्रुभलको लागि डिटेल दर्ता गरेसँगै नयाँ इलेक्ट्रीक एसयूभी बारे जानकारी बाहिर आएको हो ।
चिनियाँ ब्राण्ड जिलीले यसअघि हाइब्रिड मोडलको रुपमा बिक्री गर्दै आएको ग्यालेक्सी स्टारसिप नामक एसयूभीलाई इलेक्ट्रीकमा ल्याउने भएको हो । ग्यालेक्सी स्टारसिप सेभेनको प्लगइन हाइब्रिड मोडल ‘जीइए प्लेटफर्म’मा बनेको थियो ।
इलेक्ट्रीक मोडल ‘स्टारसिप सेभेन’लाई पनि त्यहि प्लेटफर्ममा बनाएको हो । यसको ड्रयाग कोफिसियन्ट ०.२८८ सीडी रहेको छ ।
स्टारसिप सेभेनको लम्बाइ ४७५० एमएम, चौडाइ १९०५ एमएम र उचाइ १६८० एमएम हुनेछ । यसको ह्वीलवेस २७५५ एमएम लामो छ । यसमा १८ र १९ इन्चको ह्वील पाउन सकिनेछ ।
यो ईभीमा १६० किलोवाटको सिंगल मोटर रहने छ । स्टारसिप सेभेनको अधिकतम स्पीड १७५ किलोमिटर प्रतिघण्टा रहनेछ । जिली ग्यालेक्सी स्टारसिपमा एलएफपी ब्याट्री रहने भनिएको छ । तर, ब्याट्री साइजको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार यसमा विण्डो ट्रीम प्राइभेसि ग्लास, सनरुफ, लगेजर्याक, फ्रन्ट एण्ड रियर राडार, टेलगेट ओपनिङ इन्डिकेटर र फ्रन्ट फेन्डर गार्नेस जस्ता एक्सटेरियर फिचर रहने छन् ।

