काठमाडौं । चिनियाँ कम्पनी जिलीले महिला चालक केन्द्रित कार सार्वजनिक गरेको छ । कम्पनीले १७ हजार अमेरिकी डलर मूल्य तोकेर आइकन सिरिज अन्तर्गत ‘आईकोन प्रोटागोनिस्ट’ नामक एसयूभी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो कार ’इन्डीपेन्डेन्ट फिमेल’ थिममा डिजाइन गरिएको छ । कम्पनीले आफ्नो जिली आइकनको सुरुवात भने सन् २०२०मा गरेको थियो । यो आइकन सिरिज अन्तर्गतका गाडी जिलीको बिएमए प्लेटफर्ममा आधारित रहेको कम्पनीले जनाएको छ ।
प्रोटागोनिस्ट एसयूभीको लम्बाई ४३५० एमएम, चौडाई १८१५ एमएम र उचाई १६२० एमएम रहेको छ । यसमा ह्विलबेस भने २६४० एमएमको पाउन सकिन्छ ।
यसको एक्स्टेरियरमा ड्यूल कलर बडी डिजाइन पाउन सकिन्छ । यसमा हिडन डोर ह्यान्डल र १९ इन्चको ह्वील दिइएको छ ।
इन्टेरियरमा पनि आधुनिक एसयूभीमा रहने फिचर उपलब्ध छ । साथै, यसमा दिइएको लाइट ब्लु फ्याब्रिक डेकोरेसन र ७२ कलरमा दिइएको एम्बिएन्ट लाइटले रोमान्चित बनाउँछ ।
जिलीले यसको ड्यासबोर्डमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट प्यानलको साथमा १२.३ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, गियर स्टिक, रोटरी नब, कप होल्डर, दुई वटा एसी आउटलेट पनि दिइएको छ । यसको इन्फोटेन्मेन्टले ग्यालेक्सी ओएस सिस्टम सपोर्ट गर्छ ।

सुरक्षाका लागि प्रोटागोनिस्टमा कोलाजिन वार्नीङ, लेन डिपार्चर असिस्टेन्स, बिल्ट इन ड्राइभिङ रेकर्डर, मोबाइल फोन रिमोट कन्ट्रोल जस्ता लेभल टु एडभान्स ड्राइभिङ असिस्टेन्स फिचर्स दिइएको छ । यी फिचर्सहरु महिला चालकको सहजताका लागि समावेश गरिएको कम्पनीको दाबी छ ।
प्रोटागोनिस्टमा १.५ लिटर टर्बो इन्जिन दिइएको छ । यो इन्जिनले १८१ पीएस पावर र २९० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ७ स्पीड डुअल क्लच गियरबक्स दिइएको छ ।
कम्पनीका अनुसार यो एसयूभीलाई २०० किलोमिटर प्रतिघण्टाको स्पीडमा चलाउन सकिने छ ।

