काठमाडौं । चीनमा न्यू इनर्जी बिक्रीमा चलिरहेको रफ्तार कम भएको छ । समग्र बजार वृद्धि केही सुस्त देखिए पनि जिलीले भने छलाङ मारेको छ ।
सार्वजनिक भएको सन् २०२५ को जुलाइ महिनाको बिक्री तथ्यांक अनुसार जिलीको बिक्री १२०.४ प्रतिशतले बढेको छ । जबकि, सोही अवधिमा अन्य ब्राण्डको बिक्रीमा सामान्य मात्र बढोत्तरी देखिन्छ । चीनमा ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड र ईआरईभीलाई न्यू इनर्जी भेहिकलमा गणना गरिन्छ ।
जुलाइ २०२५मा नियो ग्रुपले २.५ प्रतिशत, हुवावे हिमा अलायन्सले ८.३ प्रतिशत, बीवाइडीले ०.१ प्रतिशतले बिक्री बढाएका छन् । जुलाइमा सबैभन्दा धेरै ईभी बिक्री गर्ने बीवाइडीले ३ लाख ४१ हजार ३० युनिट गाडी बिक्री गरेको छ । उक्त संख्या अघिल्लो महिना (जुन)को भन्दा ९.७ प्रतिशत कम हो । गत वर्षको जुलाइको तुलनामा ०.१ प्रतिशत बढी हो ।
सन् २०२५ को ७ महिनामा बीवाइडीले २४ लाख ५८ हजार ९४१ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको ७ महिनाको तुलनामा २६.२ प्रतिशतले धेरै हो । बीवाइडीको सन् २०२५ मा ५५ लाख युनिट गाडी बेच्ने लक्ष्य लिएको छ ।
जुलाइमा दोस्रो धेरै १ लाख ३० हजार १२४ युनिट न्यू इनर्जी भेहिकल जिलीले बिक्री गरेको छ । जिलीको बिक्री जुनको भन्दा ६.३ प्रतिशत र अघिल्लो वर्षको जुलाइको तुलनामा १२०.४ प्रतिशत धेरै हो ।
जिलीले सन् २०२५ को ७ महिनामा ८ लाख ५५ हजार २७५ युनिट एनईभी बिक्री गरिसकेको छ । जिलीको बिक्रीमा जिली ब्याजका कारहरू, ग्यालेक्सी सिरिज, जिकर र लिङ्क एण्ड को जस्ता ब्राण्ड छन् ।
तेस्रो धेरै ईभी चेरीले बिक्री गरेको छ । चेरीले जुलाइ महिनामा ६५ हजार ३५७ युनिट कार बिक्री गरेको हो । यो संख्या जुनको भन्दा ८.७ प्रतिशतले कम हो । सन् २०२५ मा चेरीले ४ लाख २४ हजार ८१७ युनिट एनइभी बिक्री गरेको थियो ।
चौथो स्थानमा रहेको लीपमोटरले जुलाइमा ५० हजार १२९ युनिट एनईभी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या जुनको भन्दा ४.४ प्रतिशत र गत वर्षको जुलाइको भन्दा १२६.९ प्रतिशतले धेरै हो ।
लीपमोटरले चालु वर्षको ७ महिनामा २ लाख ७१ हजार ७९३ युनिट एनईभी बिक्री गरिसकेको छ । जुन अघिल्लो वर्षको ७ महिनाको भन्दा १४९.८ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२५ मा ५ लाख कार बेच्ने लक्ष्य राखेको छ ।
पाँचौंमा हुवावेको हिमा ब्राण्ड परेको छ । हिमाले जुलाइमा ४७ हजार ७५२ युनिट र छैठौमा परेको एक्सपेङले ३६ हजार ७१७ युनिट भेहिकल बिक्री गरेको छ ।
सातौं धेरै एनईभी ग्रेटवाल मोटर्सको ३४ हजार ५९३ युनिट बिक्री भएको हो ।


