काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एथरको कम मूल्यको स्कुटर सार्वजनिक हुने भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै बुधबारदेखि सुरू हुने पहिलो नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एथर रिज्टा सार्वजनिक हुने बताएको हो ।
केही समय अघि एथर ४५० सिरिजको २०२५ मोडल सार्वजनिक कार्यक्रममै कम्पनीले रिज्टा चाँडै नेपाल आउने बताउँदै बुकिङ समेत खुला गरेको थियो ।
एथर रिज्टा फ्यामिली डिजाइन स्कुटर हो । एथर ४५० सिरिजको तुलनामा कम मूल्यमा आउने रिज्टा नेपाली बजारका लागि बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर हो । कम्पनीले ३ लाखदेखि ३ लाख ५० हजार हाराहारीमा यो स्कुटर सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
यो स्कुटरले बजाज चेतक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो ।
यो स्कुटरको रेन्ज क्रमशः १०५ र १२५ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यी मध्य कुन भेरियन्ट नेपालमा बिक्री हुन्छ भन्ने अहिलेसम्म बाहिर आएको छैन ।
एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ ।
यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

