काठमाडौं । दीपलको आधिकारकि बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले एस-०७ लाई एलएफपी ब्याट्रीमा पनि उपलब्ध गराएको छ । यसअघि एनसीएम ब्याट्री प्रयोग गरिएको एस-०७ अब एलएफपी ब्याट्रीमा पनि आएको हो ।
नयाँ ब्याट्री र नयाँ नेबुला ब्लू कलर सहित एस-०७ सार्वजनिक गर्दै कम्पनीले ५ वर्षसम्म शून्य ‘ओनरशिप कस्ट’ नारासहित स्कीम ल्याएको हो । कम्पनीले ल्याएको नयाँ ब्याट्री सहितको एस-०७ मा ६८.८ किलोवाट आवरको ब्याट्री दिएको छ । यसको सिंगल चार्ज रेन्ज डब्लूएलटीपीका अनुसार ४१० किलोमिटर छ ।
ब्याट्री र ब्लू कलर अप्सन बाहेक अन्य टेक्नीकल परिवर्तन भएको छैन । नेपालमा निकै सफल मानिएको एस-०७ आफ्नो फ्युचरस्टिक डिजाइनको कारण नै धेरैले रुचाएका हुन् ।
यसअघि बिक्री हुँदै आएको एस-०७ मा ६६.८ किलोवाट क्षमताको एनसीएम ब्याट्री थियो । यसको पनि डब्लूएलटीपी रेन्ज ४१० किलोमिटर नै हो । एलएफपी ब्याट्रीमा आउँदा २ किलोवाट आवर साइज बढेर आएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ दीपल एस-०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।
स्कीममा के के पाइन्छ ?
एमएडब्लू वृद्धिले दिएको स्कीममा ग्राहकले गाडी किनेको ५ वर्षसम्म कुनै किसिमको खर्च गर्नुपर्ने छैन । कम्पनीले यसमा ५ वर्षको अटोप्लस बीमा, ५ वर्षको सवारी साधनको वार्षिक कर, निःशुल्क सर्भिसिङ, निःशुल्क मेन्टिनेन्सका सामानहरू दिनेछ ।

यदि, तपाईंले गाडी दुर्घटनामा पार्नु भएन भने ५ वर्षसम्म एक रुपैयाँ पनि खर्च नगरी गाडी चढ्न पाउनु हुनेछ । गाडीको लागि चाहिने इन्धन (बिजुली)को पैसा पनि ५ वर्षसम्म कम्पनीले नै तिरिदिने छ ।
के पाइन्छ एस-०७ मा
कुपे डिजाइनको एस-०७ मा भएको रुफलाइन, बोल्ड फ्रन्ट फेसिया, एलईडी र्यापअराउन्ड टेल ल्याम्प लगायतले यसलाई फ्युचरिस्टिक देखाउँछ । बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चको टायरले सबैको ध्यान खिच्नेछ ।
क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रीन हुनेछ । यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउँछ । यसबाहेक दीपल एस-०७ मा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्री अप्रेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ, एडास २.५ जस्ता फिचरहरू छन् ।
सुरक्षाका लागि यसमा एआइसीसी एडाप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट मनिटरिङ, ट्रान्सपेरेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा पाउन सकिन्छ ।


