काठमाडौं । सन् २०१९ मा विश्वभर कति कार, जीप, भ्यानको बिक्री भयो र कुन ब्राण्डले सबैभन्दा बढी बिक्री गर्यो भन्ने चासो हुनु स्वभाविक हो । यस्तोमा सन् २०१९ मा विश्वभर गाडी बिक्री भएको तथ्यांक सार्वजनिक भएको छ ।
सन् २०१९ मा विश्व बजारमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनी टोयोटा मोटर कर्पोरेशन भएको छ । टोयोटाले विश्वभर ८६ लाख ८३ हजार यूनिट कार बिक्री गर्दै आफुलाई पहिलो स्थानमा राख्न सफल भएको छ । कम्पनीले १०.२४ प्रतिशत बजार हिस्सासहित पहिलो स्थान कब्जा गरेको हो । यो टोयोटाले पाएको अहिलेसम्म कै सर्वाधिक बजार हिस्सा समेत हो । यसअघि सन् २०१० मा कम्पनीले १०.२ प्रतिशत बजार हिस्सा ओगटेको थियो ।
दोस्रो स्थानमा रहेको फक्सवागनको बजार हिस्सा ७.५९ प्रतिशत रहेको छ भने कम्पनीले ६४ लाख ३६ हजारभन्दा बढी यूनिट गाडी बिक्री गर्न सफल भएको थियो ।
त्यसैगरी तेस्रो स्थानमा रहेको फोर्डले ४७ लाख ३५ हजारभन्दा बढी यूनिट गाडी बिक्री गर्दै ५.५९ प्रतिशत बजार हिस्सा ओगटेको छ भने होन्डाले अघिल्लो वर्षको तुलनामा एक स्थान सुधार गर्दै चौथो स्थानमा कब्जा जमाएको छ । होन्डाले सन् २०१९ मा ४६ लाख ३० हजारभन्दा बढी यूनिट गाडी बिक्री गरेको छ ।

त्यस्तै एक स्थान तल झरेको निसानले ४३ लाख ६६ हजार यूनिट गाडी बिक्री गर्दै पाँचौ स्थानमा रहेको छ । उसको बजार हिस्सा ५.१५ प्रतिशत रहेको छ ।
सूचीको छैटौँ स्थानमा हुन्डाई मोटर्स रहेको छ । हुन्डाइले ४२ लाख ७९ हजारभन्दा बढी यूनिट गाडी बेच्दै ५.०५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
सूचीको सातौ स्थानमा सेब्रोले, आठौ स्थानमा किया, नवौँ स्थानमा मर्सिडिज र दशौँ स्थानमा बीएमबव्ल्यू रहेका छन् ।
समग्रमा यी १० ब्राण्डले विश्व बजारमा बिक्री हुने कुल कार, जीप तथा भ्यानले ५२.५१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।


