काठमाडौं । लामो समयदेखि उल्पादन र ट्रेडिङमा व्यवसायमा रहेको गोयन्का ग्रुपले अब अटोमोवाइल ब्यवसायमा पनि प्रबेश गर्ने भएको छ । कम्पनीले चिनियाँ ब्राण्ड जेएसीका विद्युतीय साधन ल्याएर बिक्री सुरु गर्न लागेको हो ।
सिमेन्ट, स्टील, खाद्यान्न, इलेक्ट्रीक गुड्स जस्ता ब्यापारमा रहेको गोयन्का ग्रुपले ल्याउन लागेको जेएसी ब्राण्ड यसअघि पनि बजारमा थियो । गोल्छा समूहको जिओ अटोमोवाइलले जेएसीको टी-८ पीकअप ल्याएर बिक्री गरेको थियो । त्यस्तै दिगो ग्रुपले जेएसी टी-८ इलेक्ट्रीक पीकअप ल्याएर बिक्री गर्यो । तर, ब्राण्डले निरन्तरता पाएको थिएन ।
गोयन्का ग्रुपले भने सानो ह्याचव्याक कारबाट जेएसीका उत्पादन नेपाल ल्याउन लागेको हो । कम्पनीले ‘ई-जेएसवान’ इलेक्ट्रीक सीटी कार ल्याउँदैछ । जेएसीको इलेक्ट्रीक लाइनअपमा ‘ई-जेएसफोर’ कम्प्याप्ट एसयूभी, ‘ई-जेसेभेन’ सेडान र एन-५५ ट्रक छन् ।
कम्पनीले सबैभन्दा पहिला नेपाल ल्याउने ई-जेएसवान मोडलको फ्रन्ट बम्पर ‘सी’ आकारमा तयार पारिएको छ । यसको पछाडिको बम्पर पनि ‘सी’ आकारमै पाउन सकिन्छ । ह्याचव्याक कारको लम्बाइ ३६५० एमएम, चौडाइ १६७० एमएम र उचाइ १५४० एमएम छ । यसमा २३९० एमएम लामो ह्वीलवेस दिइएको छ ।
ई-जेएसवानको इन्टेरियरमा ड्यूल कलर कोस्टल टाइप डिजाइन छ । ड्यास बोर्डमा ६.२ इन्चको एलसीडी ड्राइभर इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको सेन्टर टचस्कृन छ ।
थ्री स्पोक मल्टीफङ्सनल स्टेरिङ ह्वील रहेको कारमा गियर सिफ्टर स्टेरिङ कोलुममै रहेको छ । यसमा इलेक्ट्रीक पार्किङ ब्रेक तथा अटो होल्ड जस्ता फिचर पाउन सकिन्छ । सानो कार भएता पनि भेहिकल टु लोड फङ्सन हुनु यो इभीको अर्को विशेषता हो ।
नयाँ जेनेरेसनको ई-ड्राइभ सिस्टम दिएको ई-जेएसवान कारमा ४५ किलोवाटको मोटर छ । यसले १५० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसको टपस्पीड क्षमता प्रतिघण्टा १०२ किलोमिटरसम्म रहेको छ । कम्पनीले यसमा ३१.४ किलोवाट आवरको नयाँ जेनेरेसन एलएफपी स्क्वायर ब्याट्री प्रयोग गरेको छ ।
एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने ई-जेएसवानको ब्याट्री लाइफ साइकल ६० वर्ष रहने कम्पनीको दावी छ । ई-जेएसवानले सिंगल चार्जमा ३०२ किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।
गाडीको चार वटै चक्कामा डिस्क ब्रेक छ । १४ इन्चको ह्वीलमा आउने ई-जेएसवानमा सुरक्षाको लागि एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर दिइएको छ । साथै, इलेक्ट्रोनिक स्टेविलीटी प्रोग्राम, एबीएस, हिल असिस्ट, रिभर्स पार्किङ क्यामरा, क्रुज कन्ट्रोल पनि उपलब्ध छ ।