काठमाडौं । लीपमोटरले आफ्नो नयाँ एसयूभी बी-१० को मूल्य घोषणा गरेको छ । कम्पनीले आगामी मार्च १० तारिखबाट प्रि-सेल्स सुरु गर्न लागेको बी-१० को सुरुवाती मूल्य २० हजार ५३५ अमेरिकी डलर कायम गरेको हो ।
चीनमा बीवाइडीले आफ्ना सबै रेन्जका कारमा ‘गड्स आई’ एडभान्स ड्राइभिङ फिचर दिएर ल्याउने घोषणासँगै मूल्य पनि कटौती गरेको थियो । त्यसैको काउन्टरमा लीप मोटर्सले बी-१० एसयूभीको मूल्य घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ ।
युरोपियन ग्रुप स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार बिस्तारमा लागेको लीप मोटर्सले नयाँ एसयूभी ‘बी-१०’ यसअघि फ्रान्समा भएको ‘पेरिस अटो शो २०२४’मा देखाएको थियो ।
‘लीप ३.५ आर्किटेक्चर’मा बी-१० कम्पनीको पहिलो बी-सेग्मेन्ट एसयूभी मोडल हो । बी सेग्मेन्ट एसयूभी संसारभर सर्वाधिक बिक्री हुनेमा पर्छ । यस्तो बी-१० एसयूभीले युरोप र एशियाली बजारमा राम्रो हिस्सा पाउने अनुमान गरिएको छ ।
आधुनिक फिचरले भरिपूर्ण हुने एसयूभीले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने बताइएको छ । साथै, यसको मूल्य पनि केबल १३ हजार ४८० डलरबाट सुरु हुनेछ ।
लीप मोटर्सले बी-१० एसयूभीको ककपीटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग गरेको छ । इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बी-१० एसयूभीले लीप मोटर्सको बिक्रीलाई थप उचाईमा लग्ने कम्पनीले दावी गरेको छ ।
नेपाली बजारमा पनि लिप मोटर्सका उत्पादन साँग्रिला मोटर्सले बिक्री वितरण गर्दै आएको छ । अहिले बिक्री हुँदै आएको सी-१० एसयूभीले उत्कृष्ट ब्यापार गरिरहेके छ । साइज र मोटर पावरको आधारमा ७० लाख रुपैयाँमा बिक्री हुँदै आएको सी-१० लाई उत्कृष्ट एसयूभी मान्न सकिन्छ ।
साँग्रिला मोटर्सले केही दिनमै टी-०३ ह्याचव्याक कार पनि बिक्री सुरु गर्दैछ । यस्तोमा कम्पनीको बी-१० एसयूभी पनि नेपाल आगामी नाडा अटो शो २०२५ सम्ममा नेपाल आउने अनुमान लगाउन सकिन्छ ।