काठमाडौं । फोर्डले जुलाई २०, २०२२ मा अन्तिम यूनिट इकोस्पोर्ट उत्पादन गरेर सधैंका लागि आफ्नो भारतीय उत्पादन प्लान्ट बन्द गरेको छ । फोर्डले इन्डियामा बनाएको सर्वाधिक सफल इकोस्पोर्ट अब कहिल्यै उत्पादन हुनेछैन ।
आफ्नो करिब ९ वर्षको आयुमा इकोस्पोर्टले सधैं अब्बल विक्री पाएको थियो । इकोस्पोर्ट सधैँ भारतीय बजारमा हुने विक्रीको तुलनामा निर्यात धेरै हुँदै आएको थियो ।
फोर्डले सन् १९९४ बाट भारतमा उत्पादन सुरू गरेको थियो । सन् २०२१ सेप्टेम्बर ९ तारिखबाट कम्पनीले भारतमा विक्री रोकेको थियो भने केही समय निर्यातको लागि उत्पादन हुने जनाएको थियो । त्यही अनुसार जुलाइ २०, २०२२ मा कम्पनीले आफ्नो अन्तिम उत्पादन गरेको हो ।
भारत र नेपाल जस्ता देशमा सब फोर मिटर एसयूभीमा क्रान्ति ल्याएको इकोस्पोर्ट बन्द भएपनि उसले देखाएको बाटोमा अहिले धेरै कम्पनी लागि परेका छन् । त्यसैको परिणाम स्वरूप मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट, रेनो काइगर जस्ता मोडल बजारमा उपलब्ध छन् ।
फोर्डले भारतमा रहेको आफ्नो दुई प्लान्ट विक्री गर्ने खबरहरू आइरहेका छन् । कम्पनीले यसको विषयमा आधिकारीक धारणा सार्वजनिक नगरे पनि भारतमा उत्पादन रोकेको घोषणा भएको छ ।

