‘नाडा अटो शो २०२२’ स्थगित

काठमाडौं । आज बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको बैठकले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको अटो शो स्थगित गरेको छ ।

बैंकहरुले चैतको अन्तिम हप्तादेखि नै गाडी आयातमा कर्जा प्रबाह रोकेका थिए भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैशाख १४ गतेबाट गाडीको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । साउन १ गतेबाट आयात खुल्ने अनुमानको साथ नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटो शो २०२२ को मिति घोषणा गरेको थियो ।

मिति घोषणासँगै स्टल बाँडफाँडसमेत सकेको आयोजकले सरकारले आयात प्रतिबन्ध बढाएसँगै अटो शो २०२२ को विषयमा टुङ्गो लगाउन आज बैंठक बोलाएको थियो । बैंठकले आयात खुल्ला भएपछि नयाँ मिति टुङ्गो लगाउनेगरी अहिलेलाई अटो शो स्थगित गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । अहिले पनि नाडा कार्यसमितिको बैंठक जारी छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले यसअघि नै नयाँ उत्पादन र कार विनाको अटो शो आफुहरुले कल्पना नगरेको बताएका थिए । त्यहि अनुसार तत्कालको लागि भदौ ७ देखि १४ गतेसम्म हुने भनिएको अटो शो स्थगित भएको छ ।

सन् २०२० र २०२१ को अटो शो कोभिड १९ को संक्रमण फैलिएको कारण हुन सकेकाे थिएन । यसपटकको अटो शो आर्थिक मन्दीको कारण स्थगित भएको हो ।


Back_to_top