कार खोल्न, बन्द गर्न र स्टार्ट गर्न मिल्ने गुगलको डिजिटल ‘कार कि’

काठमाडौं । गुगलले छिट्टै ल्याउन लागेको एण्ड्रोइड १२ मा कार लक/अनलक तथा स्टार्ट गर्न मिल्ने डिजिटल ‘कार कि’ फिचर हुने भएको छ । मंगलबार भएको डेभलपर कन्फ्रेन्समा गुगलले यो नयाँ ‘डिजिटल कार कि’ फिचरको घोषणा गरेको हो ।

गुगलले ठ्याक्कै यो फिचरले कसरी काम गर्छ भन्ने बारेमा केही जानकारी नदिएता पनि नियर फिल्ड कम्यूनिकेशन (एनएफसी) र अल्ट्रा वाइड ब्राण्ड (यूडब्लुबी) रेडियो टेक्नलोजीको माध्यमबाट यसले काम गर्ने अनुमान गरिएको छ ।

अब पकेटमा फोन भएपछि कारको डोर ह्याण्डल साँचो नलगाइकनै खोल्न सकिने छ । आजकल सबैजनासँग जुनसुकै बेलामा पनि फोन सँगसँगै हुने भएकोले यो फिचर एकदमै कामलाग्दो हुने गुगलले जनाएको छ ।

निकट भविष्यमै फोन साथमा भएपछि कारको चावी बोकिरहनु पर्ने छैन । गुगलले सुरुमा यो फिचर गुगलको हाइइन्ड पिक्सेल तथा सामसुङको ग्यालेक्सी स्मार्ट फोनमा उपलब्ध गराउने छ ।

कार कम्पनीहरु मध्ये पनि यो फिचर सुरुमा बीएमडब्लु जस्तो प्रिमियम ब्राण्डमा प्रयोग गरिने भएको छ । गुगलको एण्ड्रोइड १२ मा यो फिचरको सुरुवात हुने भएता पनि सन् २०२० को वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्समै एप्पलले आगामी एप्पल वाचमा ‘कार कि’ हुने घोषणा गरिसकेको थियो ।

त्यस्तै टेस्ला, हुन्डाई, भल्भो तथा भारतीय कम्पनी टाटा मोटर्सले स्मार्टफोन तथा स्मार्ट वाच एपमार्फत कार अपरेट गर्ने सिस्टम बनाइसकेका छन् ।


Back_to_top