काठमाडौं । अमेरिकी कम्पनी फोर्डले आफ्नो पहिलो इलेक्ट्रीक पीकअप आज ग्लोवल प्रिमियर गरेको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको ‘एफ १५०’ पीकअपमा आधारित रहेर नयाँ इलेक्ट्रीक पीकअप सार्वजनिक गरेको हो । फोर्डको एफ-१५० अमेरिकी बजारमा विगत ४० वर्षदेखि विक्री हुँदै आएको सफल पीकअप हो ।

अमेरिकी राष्ट्रपति जोय वाइडेनले हिजो मात्रै फोर्ड मोटरको प्लान्टमा भ्रमण गर्दै नयाँ इलेक्ट्रीक पीकअपको बारेमा जानकारी लिएका थिए । वाइडेनले राष्ट्रपतिको पदभार संभालेसँगै उनले विद्युतीय गाडीको उत्पादन र प्रयोगमा जोड दिदै आएका छन् ।
फोर्डले आजैबाट अमेरिकी बजारमा यसको बुकिङसमेत खुलाएको छ । यसको स्टायडर्ड भेरियन्टको मूल्य ३९ हजार ९७४ अमेरिकी डलर र टप स्पेकको मूल्य ९० हजार डलर कायम गरिएको छ । फोर्डको इलेक्ट्रीक पीकअपको स्टायडर्ड भेरियन्टले अधिकतम ४२६ हर्सपावर र टप भेरियन्टले ५६३ हर्स पावर प्रदान गर्ने जनाइएको छ ।
एक पटकको फुलचार्जमा स्टायडर्ड भेरियन्टलाई ३७० र टप भेरियन्टलाई ४८३ किलोमिटर गुडाउन सकिने दाबी कम्पनीले गरेको छ । यसमा रहेको व्याट्रीको साइजको विषयमा कुनै जानकारी दिइएको छैन । तर, यसमा रहेको व्याट्रीलाई एक पटक फुल चार्ज गर्न ४८ एम्पियरको विद्युतमा ११.३ किलोवाटको चार्जरले १० घन्टा लाग्ने छ भने, १५० किलोवाट क्षमताको फास्ट चार्जको प्रयोग गर्दा १५ देखि ८० प्रतिशत ४१ मिनेटमा गर्न सकिने कम्पनीले जनाएको छ ।
निकै हाइटेक फिचरहरुको साथ बजारमा आउन लागेको फोर्ड एफ १५० अहिले विश्वमा नै निकै चर्चामा रहेको इलेक्ट्रीक पीकअप हो । यसमा कम्पनीले व्ल्यू क्रुजिङ टेक्नोलोजीको प्रयोग गरिएको जनाएको छ ।


