गाडीको एलसी खुल्ने, विद्युतीय गाडीको मूल्य घट्न सक्ने

काठमाडौं । सरकारले वैशाख १४ गतेबाट नयाँ गाडीको लागि बन्द गरेको प्रतीतपत्र (एलसी) साउन १ गते आइतबारदेखि खुल्न सक्ने देखिएको छ । आज बसेको मन्त्रिपरिषद्ले यस विषयमा कुनै निर्णय नगरेसँगै आइतबारबाट एलसी खुल्ने सम्भावना बढेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार असार मसान्तसम्म मात्रै एलसी खोल्न नपाउने उल्लेख थियो । आइतबार बिहानसम्म कुनै निर्णय नभएको खण्डमा गाडीको एलसी खुल्ने देखिएको छ ।

ईभीको कर घट्ने

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिने लगायतका विकल्प प्रयोग गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै विद्युतीय गाडीको बढेको करमा केही छुट हुन सक्ने देखिएको छ ।

सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटले १०० किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीमा कर वृद्धि गरेको थियो । पूर्णरूपमा के गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको भएपनि विद्युतीय गाडीमा बढेको कर केही घटाउने संकेत सरकारले दिएको हो ।


Back_to_top