काठमाडौं । निसानले सन् २०१० देखि निरन्तर उत्पादन र विक्री वितरण गर्दै आएको लिफ इलेक्ट्रीकको उत्पादन चाँडै अन्त्य गर्ने समाचारहरु सार्वजनिक भएको छ । विश्व प्रसिद्ध जापानी कार उत्पादक निसानले सन् २०२१ मा देखाएको चिल-आउट कन्सेप्टको उत्पादनले लिफलाई रिप्लेस गर्नेछ ।

इनसाइड ईभी डटकमका अनुसार निसानले चाँडै थुप्रै नयाँ इलेक्ट्रीक मोडलको तयारी गरिरहेको कारण आफ्नो १२ वर्ष पुरानो मोडललाई हटाएर नयाँ गाडी ल्याउने छ । निसानको चिल-आउट मोडल धेरै हदसम्म लिफसँग मिल्दो जुल्दो रहेको छ ।

बजारमा आएका नयाँ नयाँ मोडलको कारण पुरानैशैलीमा निर्माण भएको लिफको विक्री बढ्न सकेको छैन । निसान मोटर्सले पनि लिफको नयाँ जेनेरेशन मोडल नआउने यसअघि नै घोषणा गरिसकेको छ । यस्तोमा बढीमा दुई वर्षभित्रै निसान लिफको उत्पादन बन्द हुनेछ । निसानले सन् २०३० सम्ममा आफ्नो समग्र विक्रीको ५० प्रतिशत इलेक्ट्रीक कार पुर्याउने लक्ष्य लिएको छ ।

निसानको चिल-आउट कन्सेप्ट एउटा क्रसओभर मोडल हुनेछ । कम्पनीको सिएमएफ ईभी प्लेटफर्ममा तयार हुने यो कार अल ह्वील ड्राइभ सिस्टममा आउने छ । सोलिड स्टेट ब्याट्रीको साथ आउने यो क्रसओभर सुरक्षा र लग्जरीको कम्बीनेशन बनेर आउने अनुमान गरिएको छ ।




