वर्षामा नागढुंगा-मुग्लिङ सडक ठप्प भए के गर्ने ? यस्तो छ ‘एक्सन प्लान’

काठमाडौं । वर्षायाम सुरू भएसँगै देशभरका सडक पहिरो र बाढीका कारण अवरुद्ध हुने जोखिम बढेको छ । अझ निर्माणाधीन सडकमा यस्तो जोखिम धेरै हुन्छ । हाल काठमाडौं उपत्यका आउने प्रमुख सडक स्तरोन्नतिको क्रममा छन् ।

संघीय राजधानीको लाइफलाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै सरकारले विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ ।

सडक विभागले नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले २०८३ को मनसुनलाई लक्षित गरी ‘मनसुन पूर्वतयारी कार्ययोजना २०८३’ सार्वजनिक गरेको हो ।

विभागले विगतका विपद् र हालैका तथ्यांकहरूको अध्ययन गरी सडक विभागले राजमार्गका उच्च जोखिमयुक्त स्थानहरू पहिचान गरेको छ । साथै तत्काल सडक सुचारु गर्न प्राविधिक, उपकरण र वैकल्पिक मार्गको व्यवस्थापन गरेको छ ।

विभागले विपद पूर्व, विपदको बेला र विपद पछि के गर्ने भनेर छुट्टा छुट्टै कार्ययोाजना बनाएको हो । विभागका अनुसार विपदका तयारीको रुपमा कार्ययोजना तयार, जनशक्ति व्यवस्थापन, यान्त्रिक उपकरण खरिद तथा मर्मत, आकस्मिक बजेटको व्यवस्थापन गरिएको छ । मातहतका कार्यालय र सडक डिभिजनहरूले आवश्यक उपकरण तयारी अवस्थमा राखेका छन् ।

सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि नौबिसे, सत्किला क्रसर प्लाण्ट, १२ किलो क्रसर (एकलेफाँट०, घाटबेशी र बेल्खु प्लाण्ट क्षेत्रमा ब्याकहो लोडर, एक्काभेटर र ट्रिप ट्रकहरू सहितका हेभी इक्विपमेन्ट र अपरेटरहरू तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै, विपदको समयमा राजमार्ग अवरुद्धको सूचना संकलन गर्ने, अवरुद्ध राजमार्गको विवरण र तथ्यांक संकलन गर्ने, रियल टाइम सूचना सम्प्रेषणा गर्ने, जनशक्ति र उपकरण परिचालन गर्ने गरी कार्ययोजना बनाएको हो ।

यदि पहिरोका कारण सडक अवरुद्ध भए तलकाल पहिरो हटाइ यातायात सूचारु गर्ने, सडक नै बगाए भित्तो काटी ट्रयाक खुलाउने, सडक भासिए/दबिए खाल्डाखुल्डी पुर्ने, टेवा पर्खाल निर्माण गरी यातायात खुलाउने योजना बनाएको हो । विपदपछि क्षतिग्रस्त सडक तथा संरचनाको पुनःस्थापना/पुननिर्माण गरिने विभागको कार्ययोजना छ ।

९ ठाउँमा पहिरोको उच्च जोखिम

विभागले नागढुंगा-मुग्लिन सडकको विभिन्न ९ स्थानलाई पहिरोको रेड जोनमा राखेको छ । विभागले गरेको अध्ययनका आधारमा मनसुनमा विशेष गरी ९ वटा स्थानहरू पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदनले औंल्याइएको छ ।

विभागका अनुसार झ्याप्ले खोला, खत्रिपौवा, धुनिबेँसी, सिक्रे खोला, धुनिवेशी, ४ किलो, ७ किलो, ९ किलो, १३ किलो, कोइरालेभिर मछेडी खोला, घाटबेँसीमा पहिरोको उच्च जोखिम छ ।

नियन्त्रणको उपाय

विभागले सम्भावित जोखिम क्षेत्रमा पहिरो नियन्त्रणको काम समेत गरेको छ । विभागका अनुसार विगतका क्षतिहरूबाट पाठ सिक्दै झ्याप्ले खोलामा स्लोप म्यानेजमेन्ट, सोइल एन्कर, र बायो इन्जिनियरिङ जस्ता कार्यहरू सम्पन्न भइसकेको छ ।

त्यस्तै, महेश खोला कटान क्षेत्रमा रक एन्कर र रिटेनिङ वालको काम सकिएको छ भने अन्य केही स्थानमा काम तीव्र पारिएको विभागले जनाएको छ ।

सडक बन्द भए प्रयोग गरिने वैकल्पिक मार्गहरू

विभागले नागढुंगा-मुग्लिन सडक बन्द भएमा प्रयोग गर्ने वैकल्पिक सडकहरू समेत पहिचान गरेको छ । नागढुंगा(नौबिसे खण्ड बन्द भएमा पश्चिमबाट काठमाडौं आउने/जाने सवारी सितापाइला-रामकोट-धार्के-गल्छी अथवा काठमाडौं (टोखा (त्रिशूली (गल्छी सडक प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै, पूर्व तथा दक्षिण तर्फका लागि कान्ति लोकपथ (टिकाभैरव-भट्टेडाँडा-हेटौंडा), फर्पिङ-दक्षिणकाली-सिस्नेरी-फाखेल हुँदै कुलेखानी-हेटौंडा वा बीपी राजमार्ग प्रयोग गर्न सकिने विभागले जनाएको छ ।

त्यस्तै, नौबिसे-गल्छी खण्ड बन्द भएमा काठमाडौं-नागढुंगा-नौबिसे-पालुङ-दामन-हेटौंडा मार्ग प्रयोग गर्न सकिनेछ । गल्छी-मलेखु खण्ड बन्द भएमा (त्रिशूली पारिको बाटो) विशेष परिस्थितिमा गल्छी चोकबाट २ किमी पूर्व गल्छी-नुवाकोट सडक खण्ड प्रयोग गरी त्रिशूली नदीका पुलहरू (महेश दोभान, मासटार, जरेखेत, घाटबेशी, फुर्केखोला) बाट पारि पट्टिको ग्रामीणरकच्ची सडक प्रयोग गरी यात्रा सुचारु गर्न सकिने विभागको योजना छ ।

विभागले मनसुन अवधिभर यात्रुहरूलाई मौसम र सडकको पूर्व सूचना लिएर मात्र सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ ।

कस्तो छ सडकको अवस्था

नागढुंगा-मुग्लिङ सडकको पूर्वीखण्डलाई हाल दुई प्याकेजमा विभाजन गरी हाल स्तरोन्नतिको क्रममा रहेको छ । जसको समग्र प्रगति हालसम्म ६४.४७ प्रतिशत मात्रै रहेको छ नागढुंगा-नौबिसे १२.२ किमी निर्माणको अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । यस खण्डको भौतिक प्रगति ८७.५२ प्रतिशत रहेको छ ।

यसखण्डमा अर्थवर्क, स्ट्रक्चर, ड्रेन र सबबेसको काम शतप्रतिशत सकिएको छ । त्यस्तै, पहिलो र दोस्रो चरणको कालोपत्र सकिए पनि बिटुमिन अभाव लगायत कारणले अन्तिम चरणको कालोपत्र हुन सकेको छैन ।

दोस्रो, नौबिसे-मलेखु (४३.५ किमी) खण्डको काम भने सुस्त छ । यस खण्डको औसत प्रगति जम्मा ५८ प्रतिशत छ । यहाँ अर्थवर्क ९४.३ प्रतिशत र पुलको काम ८८.५ प्रतिशत सकिएको छ । तर, अस्फाल्टको काम भने करिब आधा मात्र सकिएको छ । करिब १५ किमी बढी क्षेत्र कच्ची बाटोमै हिँड्नुपर्ने अवस्था छ ।


Back_to_top