काठमाडौं । हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय सवारीको क्षेत्रमा दिगो परिवर्तन ल्याउने उद्देश्यले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटीको क्षेत्रमा काम गरिरहेको गोगोरोलाई एक ठाउँमा ल्याएको छ ।
भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्योग स्थापना गर्नेछ र हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्नेछन् ।
नयाँ साझेदारीको बारेमा टिप्पणी गर्दै हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने, ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी, दृष्टिकोण र गतिशीतलाले भविष्यमा नविन खोजलाई जीवन्त बनाउने छ । आज हाम्रो यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको छ, जसरी हाम्रो विश्वव्यापी आकार र इनोभेसन पावरहाउससहित हामीले हिरोलाई टु ह्वीलरमा अग्रणी तुल्याएका छौं, त्यसरी नै स्वापिङ व्यावसायिक मोडलमा गोगोरोले वर्षौंदेखि ताइवान र बाँकी विश्वका देशहरुमा अग्रणी प्रदर्शन गर्दै आएको छ ।’
साथै मुन्जालले नयाँ साझेदारीले हिरोको अनुसन्धान र विकास हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको टेक सेन्टरमा गरिरहिएका कामलाई थप विस्तार बताए ।
गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले सम्झौँता पछि भने ‘हामी सहरी गतिशीलता र स्मार्ट सहरहरूको विकासको रूपान्तरणको एक महत्वपूर्ण चरणमा छौं । भारतमा २२ करोड ५० लाख भन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय ईन्धनको आवश्यकता छ । त्यसलाई पुरा गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्छ ।’

