हिरो इलेक्ट्रीकको आधिकारीक विक्री सुरु, तीन मोडल किन्न पाइने

काठमाडौं । हिरो इलेक्ट्रीक स्कुटर ब्राण्डले नेपालमा विक्री सुरु गरेको छ । अटोमोवाइलमा निकै परिचित व्यवसायीक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोविलिटीले हिरो इलेक्ट्रीकको उत्पादन नेपालमा विक्री सुरु गरेको हो ।

कम्पनीले काठमाडौंको टेकुमा आफ्नो पहिलो शोरुम आजबाट संचालनमा ल्याएको हो । इलेक्ट्रीक मोविलिटीलाई प्राथमिकता दिने योजना अनुसार लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रीक नेपाल ल्याएको जानकारी दिएको छ ।

योसँगै यसअघि हुन्डाई, बीएमडब्लू, एसएमएल इसुजु जस्ता ब्राण्डको आधिकारीक विक्रेता रहेको लक्ष्मी ग्रुपले दुई पाङ्ग्रे सवारीसाधनको विक्री सुरु गरेको हो ।

पहिलो चरणमा कम्पनीले तीन मोडलका इलेक्ट्रीक स्कुटरहरु नेपाल ल्याएको छ । कम्पनीले फोटोन, एनवाइएक्स र अप्टिमाको विक्री सुरु गरेको छ । अप्टिमा मोडल भने सिंगल ब्याट्री र डबल ब्याट्री अप्सनमा उपलब्ध रहेको छ ।

कम्पनीले नेपाल ल्याएको स्कुटरहरुको मूल्य २ लाख १० हजारदेखि ३ लाख ४६ हजार रुपैयाँसम्म रहेको छ ।

हिरो इलेक्ट्रीकको १२ मोडलका स्कुटर भारतीय बजारमा उपलब्ध रहेको छ भने अन्य मोडल आगामी दिनमा नेपाल आउने कम्पनीले जनाएको छ । कम्पनीले निकट भविष्यमा नै १५ मिनेटमा फुलचार्ज हुने अत्याधुनिक टेक्नोलोजिसहितका हिरो इलेक्ट्रीक स्कुटर भित्र्याउने सम्भावना रहेको छ ।


Back_to_top