हिरो र होन्डा विगतमा एकै नाममा बिक्री हुने मोटरसाइकल हुन् । विगत केही वर्षयता पार्टनरसिप टुटेपछि दुई ब्रान्ड हिरो र होन्डाका मोटरसाइकल बिक्री भइरहेको छ । त्यस यता दुई कम्पनीबीच सवारी बिक्रीमा कडा टक्कर परि रहेको छ ।
आर्थिक वर्ष २०१८/१९ मा हिरो मोटोकर्पले ७८ लाख २० हजार ७ सय ४५ वटा दुईपांग्रे सवारी बिक्री गरेकोमा होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले ५९ लाख ८ सय ४० वटा दुईपांग्रे सवारी बिक्री गरेको छ ।
२०१७/१८ मा हिरोले ७५ लाख ८७ हजार १ सय ३० वटा मोटरसाइकल बेच्दा होन्डाले ६१ लाख २३ हजार ८ सय ७७ वटा दुईपांग्रे सवारी बेचेको थियो । हिरो र होन्डाको बिक्री ग्याप २०१७/१८ को भन्दा २०१८/१९ मा बढेको देखिन्छ । ०१७/१८ मा दुई कम्पनीबीचको बिक्री अन्तर १४ लाख ६३ हजार २ सय ५३ रहेको मा ०१८/१९ मा आइपुग्दा त्यो बढेर १९ लाख १९ हजार ९ सय ५ पुगेको छ ।
मोटरसाइकल बिक्री बढ्नुमा नयाँ तथा प्रिमियम मोडल आउनु रहेको हिरो मोटोकर्पले जनाएको छ । हिरोले गत वर्ष एक्ट्रिम २००आर तथा १२५ सीसी डेस्टिनी स्कुटर ल्याएको थियो जसको अत्यधिक माग भएको कम्पनीको भनाइ छ ।
यता होन्डाले २०२० सम्ममा दुईपांग्रे सवारीमा भारतको १ नंबर ब्रान्ड बन्ने घोषणा गरेको छ । यसका लागि होन्डाले धेरै चुनौती सामना गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।
त्यस्तै बजाज भारतको तेस्रो ठूलो दुईपांंग्रे सवारी उत्पादक बनेको छ । बजाजले आव ०१९ मा ४२ लाख ३६ हजार ८ सय ७३ वटा दुइपांग्रे बिक्री गरेको हो । अघिल्लो वर्ष बजाजको बिक्री ३३ लाख ६९ हजार ३ सय ३४ रहेको थियो । टीभीएसले गत वर्ष ०१७/१८ को भन्दा १२ प्रतिशत बढी अर्थात ३७ लाख ५७ हजार दुईपांग्रे सवारी बिक्री गर्न सफल भएको छ ।

