भारतमा लोकसभाको चुनाव नजिकिएसँगै चहलपहल चुलिएको छ । त्यो चहलपहल सवारी उत्पादकसम्म पुगेको छ । चुनावमा नेताहरुले प्रयोग गर्ने सवारीलाई बलियो बनाउने चटारो सवारी उत्पादकहरुमा देखिन्छ ।
त्यतिमात्र होइन ग्यारेजहरुमै पनि सवारीलाई विस्पोटक पदार्थले केही नगर्ने, गाडीका सिसाहरु बुलेट प्रुफ बनाउने काम भइरहेको द इकोनोमिक टाइम्सले लेखेको छ । चुनावका समयमा धेरै आतंकबादी हमला हुने भएकाले नेताहरुले आफूले प्रयोग गर्ने सवारीलाई बलिया बनाउन लागेका हुन् ।
विगतमा भारतमा प्रधानमन्त्रीकै उमेद्वारको चुनावी आमसभामा सहभागी हुने क्रममै बम आक्रमणमा परि मृत्यूसमेत भइसेको र अन्य धेरै घटनाहरु भएकाले उमेद्वारको सुरक्षाका लागि सवारी बलियो बनाउने क्रम चलेको हो ।
पञ्जावको जालन्धरमा रहेको सुन्चित सोबटीको फ्याक्ट्रीमा ४ वटा एसयूभी मोडिफाइड भइसकेको छ । यसरी मोडिफाइड हुने ट्रेन्ड बढेको यो भारतको चुनावी इतिहासमै पहिलो पटक हो ।
सोबटी फ्याक्ट्रीले यसरी सवारी मोडिफाइड गर्न लागेको १९८० देखि हो । चुनावको सिजनमा यस्तो काम धेरै हुने गरेको छ । चुनाव ठूलो काम भएको र यस्तोमा जोखिमसमेत ठूलै हुने भएकाले नेताले सुरक्षित हुन चाहनु स्वभाविक नै भएको फ्याक्ट्री सञ्चालक सोबटीको भनाइ छ ।
उक्त फ्याक्ट्रीमा पञ्जावका साथै हरियाणा तथा महाराष्ट्रको पश्चिमी भेगका नेतासमेत सवारीलाई बख्तरबन्द बनाउन आउने गरेका छन् । त्यो क्षेत्रमा सवारीलाई बख्तरबन्द बनाउने अन्य फ्याक्ट्रीसमेत रहेका छन् ।
भारतमा यस्ता कार बनाउने बजार वर्षेनी दोहोरो अंकले बढी रहेको छ । यस्ता कारको बजार भारतमा वार्षिक १ सय ५० मिलियन अमेरिकी डलर बराबरको रहेको छ । भारतीय सवारी उत्पादक कम्पनी महिन्द्र तथा टाटा मोटर्सले समेत केही नेताका लागि यस्ता सवारी बनाइदिने गरेका छन् ।
निजी सवारीलाई मोडिफाइड गर्न मिन्छ तर त्यसको लागत ५ देखि ४० लाख भारु पर्ने जनाइएको छ । यसरी मोडिफाइड गर्न महगो पर्ने भएपनि चुनावी सुरक्षाका लागि त्यो आवश्यक रहेको राजनीतिज्ञहरुको बुझाई छ ।
भारतीय लोकसभा चुनावमा सायौं पार्टी र हजारौं उमेद्वार मैदानमा हुन्छन् । त्यसले पनि सुरक्षा चासो बढ्नु स्वभाविक हुन्छ । सन् २०१६ मा भारतमा चुनावकै क्रममा एकै घटनामा सयौंको ज्यान गएको थियो ।
२०१९ को लोकसभा चुनाव यही अप्रिल ११ देखि हुँदैछ यो ६ सातासम्म चल्नेछ । ९० करोड भारतीय नागरिक चुनावमा भोट हाल्न योग्य छन् ।

