हिरोको नयाँ मोटरसाइकल ‘सोल्ड आउट’, अर्को लट चाँडै आउने

काठमाडौं । हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २०० फोर भी सोल्ड आउट भएको छ । केही दिन अघिमात्र सार्वजनिक भएको एक्सपल्स २०० फोर भी खरिद गर्न चाहने ग्राहकले केही समय प्रतिक्षा गर्नु पर्ने भएको छ ।

केही दिन अघि भक्तपुरको सल्लाघारीमा आयोजना भएको मेगा एक्सचेन्ज मेलामा एक्सपल्स २०० फोर भी सार्वजनिक भएको थियो ।

‘हामीले एक्सचेन्ज मेलामा सार्वजनिक गर्नका लागि सिमित संख्यामा मात्र मोटरसाइकल मगाएका थियौ, ग्राहकको माग उच्च रहेको कारण एक्सपल्स २०० फोर भी दुई दिनमा नै सोल्ड आउट भयो । अब ग्राहकले चाँडै नै नयाँ लट एक्सपल्स २०० फोर भी पाउँछन्’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले सल्लाघारीमा तीन नयाँ मोडलका मोटरसाइकल तथा स्कुटर र र्याली किट सार्वजनिक गरेको थियो ।

हिरोका आधिकारिक शोरुमहरुले एक्सपल्स २०० फोर भीको बुकिङ लिन सुरु गरेका छन् । कम्पनीका अनुसार एक्सपल्स २०० फोभी १० देखि १५ दिन भित्रमा ग्राहकले डेलिभरी प्राप्त गर्नेछन् । नेपारभर रहेको हिरोको आधिकारिक शोरुममा एक्सपल्स २०० फोर भी बुकिङ गर्न सकिने छ ।

के छ फोर भीमा ?

एक्सपल्स २०० फोर भी भन्ने वित्तिकै मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भको प्रयोग भएको बुझ्न सकिन्छ । यसको मतलव रेगुलर मोडलको तुलनामा थप रिफाइन्ड इन्जिन यसमा प्रयोग भएको छ भन्ने हो । नयाँ फोर भी मोडलले पहिलेको भन्दा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ ।

एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ ।

हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।
रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी रहेको छ । यसको सिट हाइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि परिमार्जन गरिएको छ ।

हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको छ । नयाँ हेडलाइट सेटअपले रातिको समयमा यात्रा गर्नेलाई प्रयाप्त प्रकाश दिनेछ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।

एक्सपल्स २०० मा दिएको अगाडि २१ र पछाडि १८ इन्चको रिम ह्वीललाई फोर भीमा पनि निरन्तरता दिएको छ । कम्पनीले सस्पेन्सनमा पनि परिवर्तन गरेको छैन । अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई निरन्तरता दिइएको छ ।

एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top