काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भिडा इलेक्ट्रीकको नाममा पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
हिरो मोटोकर्पले हिरो इलेक्ट्रीकको नाममा स्कुटर ल्याउन नपाउने भएका कारण भिडा ब्रान्डमा स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले भिडा भी १ नामबाट पहिलो स्कुटर गत शुक्रबार सार्वजनिक गरेको हो ।
कम्पनीले भिडा भी १ प्लस र भी १ प्रो सार्वजनिक गरेको हो । भिडा भी १ प्लसको मूल्य १ लाख ४९ हजार र भी १ प्रोको मूल्य १ लाख ५९ हजार भारतीय रुपैयाँ तोकेको छ । कम्पनीले भोलि १० सेप्टेम्वरदेखि यी स्कुटरको आधिकारिक बुकिङ खुल्ने जनाएको छ ।
यस्तो छ स्कुटर
भिडा भी १ प्लस तथा भी १ प्रो दुवै भेरियन्टमा ६ किलोवाट क्षमताको मोटर रहेको छ । त्यस्तै भी १ प्लसमा ३.४४ किलोवाट आवर र भी १ प्रोमा ३.९४ किलोवाट आवरको लिथियम आयन रिमुभएबल ब्याट्री प्याक रहेको छ ।
भी १ प्लस र भी १ प्रो भेरियन्टमा आएको स्कुटरको टप स्पीड क्षमता प्रतिघन्टा ८० किलोमिटर रहेको छ भने भी १ प्लस ०देखि ४० को स्पीड ३.४ सेकेन्डमा भेट्छ भने प्रो भेरियन्टले मात्र ३.२ सेकेन्डमा पूरा गर्छ ।
त्यस्तै, भी १ प्लसले एकपटकको फुलचार्जमा १४३ किलोमिटर रेन्ज दिन्छ भने प्रोले १६५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यो स्कुटरमा रहेको ब्याट्रीलाई फास्ट चार्जरमार्फत चार्ज गर्दा ० देखि ८० प्रतिशत मात्र ६५ मिनेटमा गर्न सकिन्छ भने एसी चार्जरमा ५ देखि ६ घन्टासम्म समय लाग्छ ।
भिडा ब्राण्ड नेममा आएका दुवै भेरियन्टका स्कुटर फिचर लोडेड रहेका छन् । यसमा ७ इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोल, वाइफाई, फोरजी सर्पोट, एन्टिभेफ्ट अर्लाम, टर्नवाईटर्न नेभिगेशन, ट्याक माइ वाइक, एलईडी डीआरएल, राइडिङ मोड लगायत अन्य धेरै सुविधाहरू पनि छन् ।
भिडा भी १ प्लस र भी १ प्रोले ओला एस १ प्रो, अथर एक्स ४५० र टीभीएस आइक्यूब जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


