बाढीपहिरोले देशका ८ मुख्य सडक अवरुद्ध

काठमाडौं । देशभरका ८ मुख्य सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार अबिरल वर्षासँगै आएको बाढिपहिरोका कारण देशभरका ८ राजमार्ग बन्द भएका हुन् ।

विभागका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको रसुवागढी, टिमुरे, तातोपानी र कुलुङमा बाढीले सडक कटान गर्दा गल्छी-त्रिशूली-मैलुङ स्याफ्रुबेँसी-रसुवागढी सडक अवरुद्ध भएको छ । उक्त सडक खुलाउन एक्स्साभेट र लोडर परिचालन गरिएको विभागले जनाएको छ ।

सिन्धुपाल्चोकको कोदारीमा पहिरो आउँदा अरनिको राजमार्ग, ताप्लेजुङको फक्ताङलुङ वडा नं. ५ र जोड्ने बेलीब्रिज बजाउँदा तमोर करिडोर, रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट-डोल्पा भेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै, रोल्पाको पतलाचौर/ग्राम्जिम अविरल वर्षा हुँदा शहिद राजमार्ग, खोटाङको पंखु खोलामा पहिरो आउँदा मध्य पहाडी राजमार्ग र बागलुङको कालीखोलामा ठूला चट्टानसहित पहिरो खस्दा कालिगण्डकी करोडार अबरुद्ध भएको विभागले जनाएको छ ।


Back_to_top