काठमाडौं । फ्रेन्च ब्राण्ड रेनोले चिनियाँ ब्राण्ड जिलीसँग सहकार्य गर्दै उदयमान बजारको विद्युतीय कार बनाउने भएको छ । रेनोको चीनमा रहेको अनुषन्धान टोलीको भनाइ अनुसार दक्षिणपूर्वी एशिया र दक्षिण अमेरिकी बजारलाई ध्यानमा राख्दै रेनो र जिली बीच सहकार्य हुन लागेको हो ।
चिनियाँ उत्पादकले बनाएको ‘जीइए’ प्लेटफर्म अहिले ग्यालेक्सी ब्राण्डमा प्रयोग हुँदै आएको छ । यहि प्लेटफर्म रेनोलाई पनि दिन लागेको हो । जिली बाहेक जीइए प्लेटफर्म प्रयोग गर्ने रेनो पहिलो कम्पनी बन्ने भएको छ ।
जिलीको जीइए प्लेटफर्ममा प्योर ब्याट्री इलेक्ट्रीक र प्लग इन हाइब्रिड कारहरु उत्पादन हुनेछ । चिनियाँ मिडिया अटोपिक्सका अनुसार प्लेटफर्म बाहेक अन्य सबै कुरा रेनोले आफैँ विकास गर्नेछ ।
रेनो र जिली बीच लामो साझेदारीको प्रयास भइरहेको बताइन्छ । रेनो युरोपमा बलियो छ । त्यस्तै जिलीले भोल्भो, स्मार्ट, पोलेस्टार र जियु जस्ता ब्राण्डसँग आफ्नो ‘सीएमए’ प्लेटफर्म सेयर गर्दै आएको थियो ।
उसोत रेनो युरोपमा साना र सस्ता ईभी बिक्री गर्ने कम्पनी हो । रेनोका एसयूभी मोडलले दक्षिण कोरिया, दक्षिणपूर्व एशिया, ल्याटीन अमेरिका र उत्तर अफ्रिकाका देशहरुमा ठूलो सफलता पाउँदै आएको छ । यी देशहरुमा रेनोको बलियो उपस्थिति रहेको छ । त्यसैले उसको ध्यान सहकार्यमा केन्द्रित भएको हो । जिलीसँग सहकार्य थालेसँगै उसले इलेक्ट्रीक र हाइब्रिड एसयूभीहरु उत्पादन गर्नेछ ।
यी दुई कम्पनी बीच सहकार्य सुरु भएको खण्डमा रेनोका कारहरु चीनमा उत्पादन भएर विश्व बजारमा बिक्रीको लागि उपलब्ध हुनेछन् ।

