काठमाडौं । सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी ई-भिटारा नेपाल आइपुगेको छ । सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले इलेक्ट्रीक एसयूभी नेपाल ल्याएको हो ।
भदौ ३ गतेबाट सुरु हुने नाडा अटो शो २०२५ बाट बुकिङ सुरु हुने अनुमान गरिएको ई-भिटारा भारत, जापान, युरोप र अन्य एशियाली देशमा चर्चामा रहेको छ । जापानी कार निर्माता सुजुकीले भारतीय प्लान्टबाट उत्पादन गर्ने ई-भिटारा अर्को जापानी ब्राण्ड टोयोटासँगको सहकार्यमा विकास गरिएको मोडल हो ।
बीवाइडीको चर्चित ब्लेड टेक्नोलोजीको ब्याट्री प्रयोग भएको ईभिटारामा ६१ र ४९ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसमा भएको ठूलो ब्याट्रीप्याकले ५०० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
कम्प्याक्ट मिडसाइज सेग्मेन्टको यो एसयूभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम तथा २७०० एमएमको ह्वीलबेस रहेको छ । ग्राउन्ड क्लियरेन्स भने १८० एमएम छ ।
मारुती सुजुकीले ई-भिटारामा धेरै प्रकारका अत्याधुनिक फिरचहरू दिएको छ । यो ईभीको एक्सटेरियरको फ्रन्टमा एलइडी हेडलाइट, डेटाइम रनिङ लाइट र टेललाइट रहेको छ । यसको फ्रन्ट ग्रीलमा एक्टीभ एयर भेन्ट्स दिएको छ । १८ इन्चको ह्वील रहेको यो ईभीमा प्यानारोमिक सनरुफ पाउन सकिन्छ ।
ई-भिटाराको इन्टेरियरमा मल्टिकलर एम्बियन्ट लाइट, वायरलेस चार्जर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रीन, १०.१ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ ।

एसयूभीमा म्युजिकको लागि हर्मनको अडियो सिस्टम, इनकार कनेक्टिभिटी टेक, सिंगल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पीएम २.५ एयर फिल्टर, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट दिइएको छ । पछाडिको सिट पनि रिक्लाइन र स्लाइडिङ गर्न मिल्छ ।
जापानी निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड, वान पेडल ड्राइभिङ मोड पनि दिएको छ ।
सुरक्षाको लागि आधुनिक फिचरको लामै लिस्ट उपलब्ध ई-भिटारामा एडास लेभल २ फिचर पाउन सकिन्छ । लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर उपलब्ध छ ।
जापानी निर्माताले ई-भिटाराको चार वटै चक्कामा डिस ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, पैदल यात्रुको लागि अकुस्टिक भेहिकल अलार्म सिस्टम लगायत सुरक्षा फिचर प्रदान गरेको छ ।
कम्पनीले ठ्याक्कै कुन साइजको मोटरमा ल्याएको हो भन्ने विषयमा जानकारी दिएको छैन । त्यसैले यसको मूल्य अनुमान गर्न कठिन छ । तथापि हुन्डाई क्रेटा ईभीसँग सिधा प्रतिस्पर्धा हुने ई-भिटाराको मूल्य ६० लाख हाराहारी पर्ने आँकलन गर्न सकिन्छ ।

