काठमाडौं । बाढी पहिरोका कारण देशभरका १३ वटा मुख्य राजमार्गमा सवारी आवगमन बन्द भएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान १० बजेसम्म ५ प्रदेशका १३ सडक अवरुद्ध रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, कोशी प्रदेशकै कोशही राजमार्गको इलामखण्ड, तमोर करिडोरको पाँचथरखण्ड र सिद्धिचरण राजमार्गको ओखलढुंगाखण्ड अवरुद्ध रहेको छ ।
बाढीपहिरोका कारण बागमती प्रदेशमा बीपी राजमार्गको काभ्रेपलाञ्चोकखण्ड, रसुवाको गोसाइकुण्ड गाउँपालिकाको विभिन्न ३ ठाउँमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग, सिन्धुलीको गोलन्जरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग, चितवनको इच्छाकामना गाउँपालिका ५, तुइनखोलामा पहिरो जाँदा मुग्लिन नारायणगढ र रामेछापको खाँडादेवीमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पहिरो जाँदा जोमसोम कोराला सडक, म्याग्दीको घुमाउने भीरमा पहिरो जाद्या बेनी दरवाङ सडक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका खोरबाघमा पहिरो जाँदा भेरी करिडोर पूर्ण रूपमा बन्द रहेको छ ।

