धमाधम ऋण लिएर किन्न थाले गाडी, कर्जा लगानी ९.३ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर ग्राहकले धमाधम सवारी साधन खरिद गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक चालु आवको ७ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । बैंकको ब्याजदर इतिहासकै सस्तो भएको र सहजै कर्जा पाइने अवस्था रहेकाले धमाधम ऋण लिएर गाडी किन्न थालेका हुन् ।

राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्मका सवारी साधन खरिद प्रयोजनाका लागि प्रदान गरिने हायर पर्चेज कर्जा लगानी ९.३ प्रतिशतले बढेको हो । यो औसत कर्जा लगानी वृद्धिदरभन्दा अढाई गुणा धेरै हो । चालु आवमा समग्र कर्जाको वृद्धिदर ३.६ प्रतिशत मात्रै छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कुल ११ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब २८ अर्ब ६९ करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा माघ मसान्त आइपुग्दा बढेर १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ पुगेको हो ।

चालु आवमा व्यक्तिगत (प्यासेन्जर) र कमर्शियल दुवै प्रयोजनका लागि प्रदान हुने कर्जा लगानी बढेको छ । ७ महिनामा कमर्शियल कर्जा लगानी ११.१ प्रतिशत र व्यक्तिगत ५.७ प्रतिशतले बढेको छ । अर्थात् ७ महिनामा कमर्शियल सवारी किन्न ९ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ र व्यक्तिगत सवारी किन्न २ अर्ब ४२ करोड ९१ लाख रुपैयाँ कर्जा प्रदान भएको छ ।

पछिल्लो समय सवारी साधनको माग र बिक्री बढ्न थालेसँगै हायर पर्चेज कर्जा लगानी पनि बढेको हो । अहिले बैंकको ब्याजदर इतिहासकै तल्लो बिन्दुमा छ । बैंकहरूको औसत बेसरेट सवा ५ प्रतिशत छ । केही बैंकले न्यूनतम ०.५ प्रतिशत मात्रै प्रिमियम जोडेर मात्रै पनि कर्जा दिइरहेका छन् ।

गाडी किन्न बैंकबाट ६/६.५ प्रतिशत ब्याजदरमै ऋण पाउने अवस्था छ । त्यसैले गाडी किन्ने योजनामा रहेकाहरू सस्तो ब्याजदर भएको मौका छोपी धमाधम ऋण लिएर सवारी किन्न थालेको देखिन्छ । बैंकहरूले पनि ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याइरहेका छन् । केही बैंकले ६ प्रतिशतभन्दा कम ब्याजदरको स्कीम समेत ल्याएको छन् ।

विगत ३ वर्षदेखि आर्थिक शिथिलता कायमै रहँदा कृषि, उत्पादनमूलक, औद्योगिक क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । शिथिलताका बाबजूद अटो, सेयर लगायत क्षेत्रमा भने कर्जाको माग छ । यस्तोमा बैंकहरूले यी क्षेत्रमा धमाधम कर्जा विस्तार गरिरहेका छन् । साथै, बैंकहरूले ग्राहक तान्न सस्तो ब्याजदरको आकर्षक सवारी कर्जा समेत ल्याइरहेका छन् ।

बैंकहरूले सवारी कर्जा ७ वर्षसम्मका लागि प्रवाह गर्छन् । व्यवसाय खुम्चिएको बेलामा दीर्घकालीन ऋण प्रवाह गर्दा समग्रमा फाइदा पुग्ने भएकाले अहिले सस्तो ब्याजदरमै भए पनि कर्जा लगानी गरेका हुन् ।


Back_to_top