हायर पर्चेज कर्जा लगानीमा दुई वाणिज्य बैंक आक्रमक, दिए ८८% ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरू हायर पर्चेज कर्जा लगानीमा आक्रमक बनेका छन् । चालु आवको ११ महिना (साउन-जेठ)मा वाणिज्य बैंकहरूले मात्रै ८ अर्ब २१ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका हुन् ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूले हायर पर्चेज कर्जा लगानी ७.६८ प्रतिशतले बढाएका हुन् । गत असारसम्म वाणिज्य बैंकहरूले कुल १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेकोमा चालु आवमा बढेर १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ पुगेको हो ।

चालु आवमा २० वाणिज्य बैंकमध्ये १२ वटाले हायर पर्चेज कर्जा लगानी बढाएका छन् भने ८ वटाले घटाएका छन् । चालु आवमा सवारी साधनको बिक्रीमा सुधार आएसँगै बैंकहरूले कर्जा लगानी पनि बढाएका हुन् ।

समीक्षा अवधिमा हायर पर्चेज कर्जा लगानीमा एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंक निकै आक्रमक बनेका छन् । समग्र कुल कर्जा लगानीमा यी दुई बैंकले मात्रै ८८ प्रतिशत कर्जा लगानी गरेका हुन् । चालु आवमा वाणिज्य बैंकहरूले कुल ८ अर्ब २१ करोड रुपैयाँ हायर पर्चेज कर्जा दिएका छन् । सोमध्ये एभरेष्ट र राष्ट्रिय वाणिज्यले मात्र ७ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कुल कर्जा लगानीको ८७.७ प्रतिशत हो ।

चालु आवमा एभरेष्ट एक्लैले ४ अर्ब २२ करोड हायर पर्चेज कर्जा दिएको छ । यो कुल कर्जा लगानीको ५१ प्रतिशत हो । त्यस्तै, ११ महिनामा राष्ट्रिय वाणिज्यले २ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो कुल कर्जा लगानीको ३६ प्रतिशत हो ।

अन्य बैंकहरूको तुलनामा यी दुई बैंकको ब्याजदर सस्तो भएकाले हायर पर्चेज कर्जा लिने आकर्षित भएका हुन् । हाल दुवै बैंकको बेसरेट ६ प्रतिशतभन्दा कम छ ।

त्यस्तै, चालु आवमा ग्लोबल आइएमई र सानिमाले पनि १ अर्ब बढी हायर पर्चेज कर्जा लगानी गरेका छन् । यी दुई बैंकले क्रमशः १ अर्ब ७१ करोड र १ अर्ब २२ करोड रुपैयाँ कर्जा दिएका हुन् ।

त्यस्तै, चालु आवमा कृषि विकासले ९० करोड, एनएमबी ८८ करोड, नबिल ४५ करोड, प्राइम कमर्शियल र प्रभुले समान १५१५ करोड कर्जा दिएका छन् ।

चालु आवमा ८ बैंकले भने हायर पर्चेज कर्जा लगानी घटाएका छन् । जसमा कुमारीको सबैभन्दा धेरै १ अर्ब ६५ करोड र एनआइसी एशियाको १ अर्ब ३८ करोड रुपैयाँले घटेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड ८८ करोड, हिमालयन ५८ करोड, माछापुच्छ्रे ४० करोड, लक्ष्मी सनराइज ३९ करोड, सिद्धार्थ १२ करोड र इन्भेष्टमेन्ट मेगाको ७ करोड रुपैयाँ कर्जा लगानी घटेको छ ।


Back_to_top