काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुत्पादक भनिएको हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत गरिएको व्यवस्था कार्यन्वयन गर्न निर्देशन जारी गर्दै हायर पर्चेज कर्जाको जोखिम भार बढाएको हो ।
राष्ट्र बैंकले ऋणलाई निरुत्साहन गर्न भन्दै हायर पर्चेज कर्जाको जोखिमभार दोब्बरले बढाएको छ । हाल व्यक्तिगत ऋणमा ७५ प्रतिशत जोखिम भार रहेकोमा राष्ट्र बैंकले बढाएर १५० प्रतिशत पुर्याएको छ । त्यस्तै, यसअघि संस्थागत सवारी कर्जामा १०० प्रतिशत रहेको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको छ ।
उदाहरणका लागि यसअघि बैंकहरूले १०० रुपैयाँ ऋण दिँदा १२ रुपैयाँ पूँजीकोष (बैंकको आफ्नो खल्ती) र ८८ रुपैयाँ निक्षेपको प्रयोग गर्न पाइन्थ्यो । अब जोखिमभार १५० प्रतिशत पुगेसँगै बैंकहरूले आफ्नो खल्तीबाट १८ रुपैयाँ र निक्षेपको ८२ रुपैयाँ मात्रै प्रयोग गर्न पाउँछन् ।
यसोगर्दा बैंकहरूको कर्जा प्रवाह क्षमता घट्छ भने कर्जा लगानी गर्न थप पूँजी व्यवस्थापन गर्नुपर्छ । जसले बैंकको लागत बढ्छ । लागत बढेपछि बैंकहरूले कर्जाको प्रिमियम बढाउँछन् । जसले कर्जाको ब्याज महँगो हुन्छ ।
जोखिमभार दोब्बरले बढेपछि अब हायर पर्चेज कर्जाको ब्याजदर पनि ५० प्रतिशतभन्दा धेरैले बढ्ने देखिन्छ । यसअघि १२/१३ प्रतिशत रहेको हायर पर्चेज कर्जाको ब्याजदर अब १८ प्रतिशसम्म पुग्न सक्ने बैंकरहरू बताउँछन् ।

