काठमाडौं । फक्सवागेनले पोलो उत्पादन गरेको १२ वर्ष भएको छ । सन् २००९ बाट महाराष्ट्रको चाक्कन प्लाण्ट फक्सवागेनले संचालनमा ल्याएसँगै पहिलो कारको रूपमा पोलो उत्पादन भएको थियो ।
भारतीय बजारमा सफल ह्याचब्याक आफ्नो उत्पादनको १२ वर्षपछि निकै कमजोर भएको छ । अर्थात् विक्रीमा उच्च गिरावट आएको छ । उत्पादनको १२ वर्षमा भारतमा मात्रै २ लाख ५० हजार यूनिट विक्री पूरा गरेको पोलो पछिल्ला दिनमा १ हजार यूनिटभन्दा कम विक्रीमा झरेसँगै यसको भविष्य संकटमा परेको हो ।
सन् २०१० देखि फक्सवागेनको पुरानो ‘पीक्यू प्लेटफर्म’मा उत्पादन भएको पोलो विक्रीमा गिरावट आएसँगै उत्पादन बन्द गर्ने चर्चा चुलिएको हो । यद्यपि, फक्सवागेनले ‘एमबीक्यू एओ आइएन’ प्लेटफर्ममा यसलाई बनाउने कुरा नकार्न सकिँदैन । भारतीय बजारको लागि फक्सवागेन ग्रुपले यो प्लेटफर्म बनाएको हो ।
फक्सवागेनले ‘एमबीक्यू एओ आइएन’ प्लेटफर्ममा नै कम्प्याक्ट एसयूभी टाइगुन र नयाँ आउँदै गरेको सेडान भर्सन उत्पादन गर्ने तयारी गरिरहेको छ ।
भारतमा बनेको फक्सवागेनको हिरोे मोडल पोलो नेपाली बजारमा पनि राम्रो संख्यामा विक्री हुँदै आएको छ । युरोपियन लुक्स, उत्कृष्ट विल्ड क्वालिटी र आकर्षक इन्टेरियर डिजाइनका कारण पोलोले सफलता पाएको हो । बजारमा विक्री सुरू भएको १२ वर्षमा पोलोमा भएका ५ परिमार्जनलाई यहाँ प्रस्तुत गरिएको छ ।
२०१० मार्च
सन् २०१० मार्चमा पहिलो पटक भारतमा विक्री सुरू भएको पोलो १.२ लिटर पेट्रोल र १.२ लिटर टर्बो डिजेल इन्जिन अप्सनका साथ बजारमा आएको थियो । युरापियन ब्राण्ड र आकर्षक लुक्सका कारण प्रिमियम ह्याचब्याक कार खोज्ने धेरै ग्राहकले यसलाई मनपराएका थिए ।

२०१० सेप्टेम्बर
१.२ लिटर इन्जिनमा आएको वर्ष नै ह्याचब्याकमा पावरफुल इन्जिन चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले १.६ लिटर पेट्रोल इन्जिन अप्सन पनि बजारमा ल्यायो । ठूलो साइजको नोज ग्रिल र म्यानुअल गियरबक्स सहित लन्च भएको १.६ लिटर पोलो ड्राइभिङमा ‘फन’ चाहने ग्राहकको रोजाइमा परेको थियो ।
२०१३ अप्रिल
फक्सवागेन पोलोमा केही नयाँ गर्ने चक्करमा थियो । बजारमा १.६ लिटर पेट्रोल इन्जिनको सट्टा सानोमा धेरै पावर दिने गाडी उसको चाहना थियो । त्यसैले सन् २०१३ अप्रिलमा कम्पनीले १.६ लिटर पेट्रोल इन्जिनलाई परिवर्तन गरेर १.२ लिटर टर्बो पेट्रोल इन्जिनको सुरूआत गरेको थियो ।
यसको पावर १.६ इन्जिनको जति नै पावर र टर्क थियो । साथै यसमा ‘ड्युल क्लच अटोमेटिक गियरबक्स’ रहेको थियो । यो जीटी टीएसआई नामको नयाँ टर्बो इन्जिन भारतमा निकै सफल भएको थियो ।
२०१६ नोभेम्बर
फक्सवागेन नयाँ गर्ने अठोटमा रहेकाले उसले सन् २०१६ नोभेम्बरमा थ्री डोर पोलो जीटीआई ब्याजमा ल्यायो । चलिरहेको मोडलभन्दा ३ गुणा महँगो यसले बजारमा राम्रो विक्री पाउन सकेन ।

२०२० मार्च
फक्सवागेनले सन् २०२० मार्चबाट भारतमा नयाँ प्रदूषण मापदण्ड बीएस ६ लागू हुने भएसँगै कम्पनीले १.० लिटर एमपीआइ र १.० टीएसआइ इन्जिनमा पोलो बजारमा ल्याएको हो ।
एमपीआइ इन्जिन नेचुरल्ली एस्पिरेटेड इन्जिन हो भने टीएसआइ टर्बो चार्ज्ड इन्जिन हो । फक्सवागेनले नयाँ टीएसआइ इन्जिनसँगै ड्युल क्लचको स्थानमा टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको प्रयोग गर्दै आएको छ ।


