काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटर इण्डियाले सीबी ३०० आर मोटरसाइकल रिकल गरेको छ । कम्पनीले होण्डा सीबी ३०० आरको हेडलाइटमा कनेन्ट हुने ‘पीसीबी’ बोर्डमा समस्या देखिएको भन्दै रिकल गरेको हो ।
कम्पनीले समस्या देखिएको मोटरसाइकल निःशुल्क मर्मत गर्ने बताएको छ । केही समयको प्रयोगपछि मोटरसाइकलमा भाइब्रेसन आउने, ब्रेकले राम्रो काम नगर्ने र हेडलाइटमा समस्या देखिएका मोटरसाइकललाई होण्डा बिगविङ सर्भिस सेन्टरमा मोटरसाइकल देखाउन होण्डा इन्डियाले अनुरोध गरेको छ ।
ग्राहकहरूले विभिन्न समयमा यसको हेडलाइटमा समस्या देखिएको र मोटरसाइकलमा भाइब्रेसन आएको बताएपछि उक्त समस्याको पहिचान भएको र समस्या देखिएको मोटरसाइकलको निःशुल्क मर्मत गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले २०१८ देखि २०२० को बीचमा उत्पादन भएको सीबी ३०० आरमा उक्त समस्या देखिन सक्ने भनेको छ । होण्डा बिगविङ डिलरले उक्त सयमका सबै सीबी ३०० आर ग्राहकहरूलाई कल, एसएमएस र इमेल मार्फत उक्त समस्याको जानकारी गराउने बताएको छ । अथवा ग्राहकले होण्डा बिगविङको वेबसाइटमा आफ्नो भेहिकल आइडेन्टिफिकेसन नम्बर राखे समेत जानकारी लिन सक्नेछन् ।
सीबी ३०० आरमा २८६ सीसी लिक्विड कुल्ड, ४ भल्भ, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ३१ बीएचपी तथा ७५०० आरपीएममा २७.५ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
नेपाल बजारमा भने हालसम्म यो मोटरासइकल भित्रिएको छैन् ।