होन्डा ‘एक्सआर १९० र १५० एल’मा कति फरक, यस्ता छन् भिन्नता

काठमाडौं । होन्डा मोटरसाइकल नेपाली सडकमा चर्चित ब्राण्ड हो । विगत ५१ वर्षदेखि नेपालका सडकमा गुड्दै आएको होन्डाका मोटरसाइकलहरु निकै किफायति, स्टाइलिस र आवश्यकता अनुसारका मूल्य र डिजाइनमा उपलब्ध रहेका छन् ।

कुनै समय एक्सएल डर्ट बाइक नेपाली सडकमा गुड्दा चालकले आफुलाई अलग सम्झने जमाना थियो । अहिले भारतीय बजारमा होन्डाले आफ्ना अधिकांश मोडलको उत्पादन गर्दै आएको छ र ति मध्ये अधिकांश मोडल नेपालमा बिक्री हुने गरेका छन् ।

होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा एक्सआर मोडल तिन इन्जिन अप्सनमा बिक्री वितरण गर्दै आएको छ । जसमा एक्सआर १२५ एल, १५० एल र १९० एल हुन् । यी मध्ये हामीले यहाँ १५० र १९० मा भएका मुख्य भिन्नतालाई केलाउने प्रयास गरेका छौं ।

मूल्य

होन्डा एक्सआर १५० एलको मूल्य ४ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ भने १९० एलको मूल्य ५ लाख ९४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

इन्जिन

होन्डा एक्सआर १५० एलमा १४९.२ सीसी सिंगल सिलिण्डर, फोर स्टोक इन्जिन दिइएको छ भने १९० एलमा १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिण्डर, एसओएचसी इन्जिन दिइएको छ ।

एक्सआर १५० एलमा दिइएको इन्जिनले ७७५० आरपीएममा १२.१४ बीएच पावर र ६००० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्छ भने १९० एलले ८५०० आरपीएममा १५.६ बीएच पावर र ६००० आरपीएममा १५.७ एनएम टर्क प्रदान गर्छ । दुबै बाइकमा ५ स्पीड गियरबक्स रहेको छ ।

डायमेन्सन

एक्सआर १९० एलको लम्बाई २०७५ एमएम, चौडाई ८१२ एमएम र उचाई ११२४ एमएम रहेको छ भने ह्वील वेस १३५१ एमएम रहेको छ ।
एक्सआर १५० एलको लम्बाई २१००, चौडाई ८२० र उचाई ११२६ एमएम रहेको छ । यसमा १३६० एमएमको ह्वीलवेस दिइएको छ । दुबै बाइकमा समान २४५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको रहेको छ । दुबै मोटरसाइकलमा १२ लिटरको फ्यूल ट्याङ्की दिइएको छ ।

ब्रेकिङ

कम्पनीले एक्सआर १९० एलको अगाडि चक्कामा २४० एमएमको पिष्टन क्लालिपर सहितको हाइड्रोलिक डिस्क र पछाडि चक्कामा ११० एमएम ल्यान्डिङ ड्रम ब्रेक दिएको छ ।

१५० एलको अगाडि चक्कामा २४० एमएमको डियुल पिष्टन क्यालिपर डिस्क र पछाडि मेकानिकल ड्रम ब्रेक दिइएको छ ।

सस्पेन्सन

अफरोडमा आरामदायी यात्राको लागि कम्पनीले एक्सआर १९० एलको अगाडि २४० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र १५१ एमएमको एक्स्ले ट्राभल मोनोसक दिएको छ ।

एक्सआर १५० एलको अगाडि १८० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र १५० एमएमको एक्स्ले ट्राभल सिंगल शक स्विङ सस्पेन्स दिएको छ ।


Back_to_top