मोरङ उद्योग संगठन र नाडाबीच छलफल, बिराट एक्स्पोमा सडक सुरक्षामा सहयोग गर्ने

काठमाडौं । मोरङ उद्योग संगठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आज नाडा अध्यक्ष कृष्णप्रसाद दुलालसहित नयाँ कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । उक्त भेटमा दुई संस्थाबीच आपसी सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो ।

नाडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी संगठनले नाडा नेतृत्व सर्बसम्मत चयन भएकोमा अध्यक्ष दुलालसहित सम्पूर्ण कार्यसमित सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेका हुन् ।

उक्त कार्यक्रममा संगठन अध्यक्ष घिमिरेले आफू पनि अटोमोबाइल ब्यवसायी भएको हुँदा उक्त क्षेत्रमा हुनेगरेका समस्याहरुलाई नजिकबाट नियालिरहेको बताए ।

‘नाडा नेतृत्वले अटोमोबाइल क्षेत्रमा देखापरेका बिबिध समस्याहरुको उचित समाधानका लागि सरकालाई रचनात्मक सल्लाह दिई असल सल्लाहकारका रुपमा प्रस्तुत हुनेछ भन्ने बिश्वास लिएको छु’ उनले भने ।

साथै, उनले फागुन २ गतेदेखि १० गतेसम्म आयोजना हुन गइरहेको २२ औ बिराट एक्स्पोमा छुट्टै अटो प्याभिलियनको ब्यवस्था गरिएको हुँदा उक्त एक्स्पोमा उल्लेख्य सहभागिता जनाउन नाडा सम्बद्ध व्यवसायीलाई आग्रह गरे ।

एक्सपोका संयोजक भोला दुलालले बिगतका एक्स्पोहरुमा समेत अटोमोबाइल क्षेत्रबाट उल्लेख्य सहभागिता जानाइदै आइएकोमा यसपटक झनै बढी सहभागिता रहने विश्वास ब्यक्त गरेका थिए । साथै उनले एक्स्पो आयोजनाका लागि नाडाले बिभिन्न तबरबाट सहयोग गर्ने अपेक्षा समेत ब्यक्त गरे ।

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले एक्स्पोमा नाडाका तर्फबाट आफूले गर्न सक्ने सहयोग उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

एक्स्पोको अबसर पारेर त्यस क्षेत्रमा नाडाले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रममा सहकार्य गर्ने उनले बताए । दुलालको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले सुरु देखिनै सडक सुरक्षालाई प्रमुखताको साथ उठाउन सुरु गरेको छ ।


Back_to_top