‘भैपरी आउँदा’ प्रयोग गर्न सडक विभागसँग कति बेलीब्रिज स्टक छन् ?

काठमाडौं । वर्षायाममा बाढीपहिरोको प्रकोप बढ्ने गर्छ । जसले ठूलो धनजनको क्षति पुर्याउँदै आएको छ ।

सडक तथा पुल पूर्वाधरमा पनि ठूलो क्षति पुर्याउने गरेको छ । गत वर्ष मात्रै बाढीपहिरोले साढे २ अर्ब बढीको क्षति पुर्याएको थियो भने उक्त पूर्वाधार पुनःनिर्माण गर्न २५ अर्ब रुपैयाँ बढी खर्च हुने सरकारी अध्ययनले देखाएको थियो ।

बाढीपहिरोले सडक तथा पुल भत्काउने र बगाउने गर्छ । जसकारण राजमार्गमा आवतजावत नै ठप्प हुन्छ । सडक बगाएको ठाउँमा वैकल्पिक ट्रयाक खोली तथा डाइभर्सन निर्माण गरी यातायात सुचारु गराउने गरिन्छ ।

त्यस्तै, पुल बगाएको ठाउँमा यातायात सुचारु गर्न अस्थायी विकल्पको रूपमा बेलीब्रिज जडान गरिन्छ । नेपालको कानुन अनुसार नयाँ खरिद प्रक्रियाबाट बेलीब्रिज जडान गर्न महिनौंसम्म लाग्छ । त्यसैले सडक विभागले आवश्यक पर्दा जडान गर्न केही थान बेलीब्रिज जगेडा (स्टक)मा राख्ने गरेको हुन्छ ।

सडक विभाग, पुल महाशाखा प्रमुख (सुई) ललिजन खनालका अनुसार हाल १७ वटा बेलीब्रिज स्टकमा रहेका छन् । ती पुल आवश्यक परेको बेला जुनसुकै ठाउँमा जडान गर्न सकिने उनले बताए ।

‘बाढीले पुल बगाएको ठाउँमा तत्कालै पक्की पुल बनाउन सम्भव हुँदैन । त्यस्तो ठाउँमा यातायात सुचारु गराउन अस्थायी रूपमा बेलीब्रिज जडान गरिन्छ,’ उनले मेरोअटोसँग भने, ‘हाल विभाग मातहतका विभिन्न सडक डिभिजन कार्यालयहरूमा १७ थान बेलीब्रिज स्टक छन् । ती पुल चाहिएको ठाउँमा आवश्यकता अनुसार जडान गर्न सकिन्छ ।’

उनका अनुसार विभागसँग अहिले ३६ देखि ४९ मिटर लम्बाइ र ४.२ देखि ७.३५ मिटरसम्म चौडाइका बेलीब्रिज स्टकमा छन् ।

कहाँ-कहाँ राखिएका छन् स्टक बेलीब्रिज ?

पुल महाशाखाका अनुसार सडक डिभिजन हेटौंडामा सबैभन्दा धेरै ८ वटा बेलीब्रिज स्टकमा छन् । ती सबै पुल भारत सरकारले उपलब्ध गराएको हो ।

त्यस्तै, सडक डिभिजन दमौली र शिवपुरमा २/२ वटा, सडक डिभिजन लाहान, बुटवल, साँफेबगर, सुर्खेत र जुम्लामा १/१ वटा बेलीब्रिज स्टकमा छन् ।

जडान गर्न कति दिन लाग्छ ?

बेलीब्रिज जडान गर्न भौगालिक अवस्था र सामान ढुवानी गर्न लाग्ने समयमा निर्भर रहन्छ । सामान ढुवानी भइसकेपछि अधिकतम १५ दिन भित्र बेलीब्रिज जडान गर्न सकिने महाशाखा प्रमुख खनालले बताए ।

‘बेलीब्रिज जडान गर्न ठ्याक्कै कति दिन लाग्छ भन्ने टुंगो हुँदैन । पुल जडान गर्नुपर्ने ठाउँको भौगोलिक अवस्था र सामान ढुवानी गर्न लाग्ने समयमा पनि निर्भर हुन्छ,’ उनले भने ।

बेलीब्रिजको लागत पनि लम्बाइ र चौडाइका आधारमा निर्धारण हुने उनले बताए । सामान्यतया ५० मिटरको डबल लेनको बेलीब्रिजको लागत १० देखि १२ करोड रुपैयाँ पर्ने गर्छ ।

सडक विभाग मातहतका कार्यालयहरूसँग कुल २९ वटा बेलीब्रिज रहेका छन् । तीमध्ये १७ वटा स्टक छन् भने १२ वटा जडान गरिएको छ । ती पुलको लम्बाइ ३३ देखि ९८ मिटर र चौडाइ ३.५ मिटरदेखि ७.३५ मिटरसम्म रहको रहेको महाशाखाले जनाएको छ ।


Back_to_top