काठमाडौं । पछिल्लो विकसित घटनाक्रममा कारण आम उपभोक्तामा दैनिक उपभोग्य वस्तुको अभाव होला कि भन्ने चिन्ता बढेको छ ।
भदौ २३ गतेको जेनजीको आन्दोलन र त्यसपछि विकसित घटना क्रमका कारण पूरै देशभर निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । अधिकांश जिल्लामा दिउँसोमा निषेधाज्ञा र रातिमा कर्फ्यु आदेश जारी गरिएको छ ।
यससँगै देशभर आवतजावत ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुको आपूर्ति श्रृंखला नै बिथोलिएको छ । अधिकांश भन्सार कार्यालयहरू अझै बन्द छ । सामान लिन गएका मालबाहक सवारी उतै रोकिएका छन् ।
३ दिनदेखि पेट्रोलियम पद्धार्थ आयात ठप्प भएको छ । बजारमा खाना पकाउने ग्यासको अभाव भएको हल्ला सुनिन थालेको छ । आयात नभएकाले उपभोक्तामा कतै डिजेल पेट्रोल पनि अभाव त हुँदैन भने चिन्ता देखिन्छ ।
अहिले २/३ दिन आयात राेकिँदैमा बजारमा डिजेल/पेट्रोल अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । निगमको प्रादेशिक कार्यालय थानकोटका प्रमुख जगदिशचन्द यादवले काठमाडौं उपत्यकामा पेट्रोलियम पद्धार्थ अभाव नहुने बताउँछन् ।
अहिले एक सातालाई पुग्ने स्टकमा रहेको र २२८ ट्यांकर लोड भई आउने क्रममा (अन द वे ) रहेकाले कुनै समस्या नहुने उनले बताए ।
‘बजारमा पेट्रोलियम पद्धार्थको अभाव हुँदैन । अहिले हामीसँग ३४०० किलोलिटर पेट्रोल र ५८०० किलोलिटर डिजेल स्टक छ । यो पेट्रोलले ५ दिन र डिजेल ९/१० दिनको माग धान्छ,’ उनले मेरोअटोसँग भने, ‘त्यस्तै ११९ ट्यांकर पेट्रोल र १०९ डिजेल अमलेखगञ्जबाट लोड भइसकेको छ । ती मध्ये केही ट्यांकर हेटौंडा, चितवन लगायत बाटोमा रहेका छन् । चाँडै आइपुग्छन् ।’
निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि पेट्रोलियम पद्धार्थ बोक्ने सवारी नरोकिने भएकाले ती ट्यांकर काठमाडौं आउन समस्या नहुने उनले बताए ।
इन्धन लिएर आएका ८० वटा ट्यांकर अनलोड गर्न बाँकी रहेको उनले जानकारी दिए । ‘यसअघि नै डिपोमा आएका ४५ वटा पेट्रोल र ३५ वटा डिजेल ट्यांकर खाली गर्न बाँकी छ,’ उनले भने ।
बिहीबारदेखि पम्पहरूले डिजेल/पेट्रोल उठाउन थालेको उनले जानकारी दिए । ‘बुधबार अर्डर ठप्पै भएको थियो । बिहीबार १५ ट्यांकर आएको थियो, पठाइयो । आज पनि अर्डर आइरहेको छ,’ उनले भने ।
थानकोट डिपोमा हवाई इन्धन नआउने भएकाले कति स्टक छ भन्ने आफूलाई थाहा नभएको उनले बताए । निषेधाज्ञा र कर्फ्युका कारण हाल अधिकांश सवारी साधन चलेका छैनन् देशभरका प्रायः सबै पेट्रोल पम्प पनि बन्द छन् । अवस्था सामान्य बन्दै जाँदा भने पेट्रोलियम पद्धार्थको माग बढ्ने छ ।

