हतारमा नयाँ मोटरसाइकल किन्नु अघि विचार गर्नुस् यी कुरा

काठमाडौं । लामो लकडाउनले जनजिवन प्रभावित भएको छ । कोरोना संक्रमणको केसहरु बढ्दो क्रममा रहँदा यसले मानिसको जनजिवन प्रभावित भएको छ भने, मानिसलाई कार्यस्थलमा पुग्न डरले सताउन थालेको छ ।

अन्तर्राष्ट्रिय अटोमोटिभ एजेन्सीहरुले गरिब र विकाशील देशमा दुई पाङ्ग्रे सवारी साधनको बिक्री बढ्ने विभिन्न खाले तथ्यांकहरु सार्वजनिक गर्दै आएका छन् । तर, कोरोना संक्रमण कम हुने कुनै छाँट देखिएको छैन । अझ नेपालमा त न्यून संख्यामा देखिएको कोरोना संक्रमण गत दुई दिनमा निकै बढेर करिब २०० जनामा पुग्न आँटेको छ ।

कोरोना संक्रमण क्रमिकरुपमा बढ्दै जानु अझ ठूलो खतराको घण्टी हो । यसले मानिसलाई सार्वजनिक यातायात तत्काल प्रयोग गर्न डर पैदा गराएको छ । यसले संगठित क्षेत्रमा काम गर्ने मानिसलाई सार्वजनिक यातायात प्रयोग गर्नुभन्दा कम मूल्यको मोटरसाइकल भएपनि आवतजावतमा सहज हुने विषयमा सोच्न बाध्य बनाएको छ ।

यही कारण दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढ्ने आँकल भएको हो । यदि तपाई पनि सार्वजनिक सवारीसाधनको विकल्पमा मोटरसाइकल वा स्कुटर किन्ने सोच्दै हुनुहुन्छ भने निर्णय गर्नुभन्दा पहिले निम्न कुरामा ध्यान दिनुस् ।

१. तपाईको मासिक आम्दानीः तपाईले मासिक कति आम्दानी गर्नु हुन्छ भन्ने विषयलाई ध्यानमा नराखि मोटरसाइकल किन्नु भएको खण्डमा पछि आर्थिक भारले तपाईलाई चेपुवामा पार्न सक्छ । आम्दानीको स्रोत बिना गरिने खर्चले मानिसलाई ऋणमा डुबाउँछ । त्यसैले आफ्नो आम्दानी खर्चको हिसाव किताव गरेर मात्र मोटरसाइकल किन्ने सोच बनाउनु उपयुक्त हुन्छ ।

२. मूल्यः कमाई अनुसार मोटरसाइल छनोट गर्नु पर्छ भन्ने मान्यताले तपाईले कति मूल्य बराबरको मोटरसाइकल किन्ने भन्ने विषयलाई टुङ्गाउछ । यदि तपाईको मासिक आम्दानी ३० हजार रुपैयाँ हाराहारीमा रहेको छ भने तपाईलाई कम्यूटर सेग्मेन्टका मोटरसाइकल उपयुक्त हुन्छ । त्योभन्दा माथी तपाईको कमाई छ र खर्च कम छ भने हिसाव गरेर माथिल्लो सेग्मेन्टका मोटरसाइकल किन्न सक्नु हुन्छ ।

३. सर्भिस खर्चः मोटरसाइकल किन्दा ध्यान दिनु पर्ने अर्को विषय त्यसको सर्भिस र त्यसमा लाग्ने खर्च हो । यदि तपाईले किनेको मोटरसाइकलको मर्मत खर्च महंगो पर्ने छ भने तपाईको हिसाव किताव बिग्रन सक्छ । त्यसैले धेरै सर्भिस सेन्टर भएका, पार्टसको उपयुक्त व्यवस्थापन गर्ने र कम मूल्यमा पार्टस पाइने कम्पनीको उत्पादन रोज्नु उपयुक्त हुन्छ ।

४. माइलेजः नियमित काममा जाँदा खर्च हुने इन्धन हो । मोटरसाइकल किन्न लाग्ने खर्च भन्दा एउटा मोटरसाइकलको जिवनमा इन्धन खर्च बढी हुन्छ । त्यसैले आफ्नो बजेट अनुसार धेरै माइलेज दिने मोटरसाइकल तथा स्कुटर छनोट गर्नु पर्छ । साथै बजारमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनपनि उपलब्ध रहेकाले आफ्नो बजेट अनुसार इलेक्ट्रीक पनि किन्न सकिने छ ।

५. रिसेल मूल्यः मोटरसाइकल किन्दा रिसेल मूल्यलाई पनि ध्यान दिनु पर्छ । रिसेल मूल्य ब्राण्डको भ्यालूसँग जोडिएर आउने विषय हो ।


Back_to_top