काठमाडौं । इलेक्ट्रीक सवारीसाधनमा भन्सार, अन्तःशुल्क र सडक निर्माण करमा वृद्धि गरेसँगै अर्थमन्त्रीको चौतर्फी आलोचना सुरु भयो । यसमा हरेक क्षेत्रमा जोडिएका मानिसले अर्थमन्त्रीले सरकारको नीति तथा कार्यक्रम विपरित इलेक्ट्रीक सवारीसाधनमा कर बढाएकोमा रोष प्रकट गरे । करको विषयको दौरान नै एमजी (मोरिस ग्यारेज) ब्राण्डको १२० गाडी भन्सार छुटेको विषय बाहिर आयो ।
हरेक वर्ष सरकारले विलासी बस्तुको कोटामा राखेर सवारीसाधन (पेट्रोलियम पदार्थबाट चल्ने) मा कर लगाउँदै आएको विगत हामीसँग छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट अगाडि संभवत नेपालमा सबैभन्दा बढी गाडी आयात भएको थियो । त्यतिवेला हरेक फोरममा अर्थमन्त्री डा. यूवराज खतिवडाले सवारीसाधनको वर्गिकरण गरेर इन्जिन क्षमताको आधारमा कर लगाउने कुर बताउँदै आएका थिए ।
कम्पनीले आफुले ल्याएको गाडी बुकिङ लिएर नै ल्याएकोले लकडाउन खुल्नासाथ डेलिभरी सुरु गर्ने र पुरानै मूल्यमा ग्राहकलाई दिने बताइसकेको छ ।
अहिलेको वर्षपनि इलेक्ट्रीक सवारीसाधनको आयतमा भएको वृद्धि र केही महंगा ब्राण्डका गाडीले निकालेको किचलो अर्थमन्त्री र सचिवले देखेका र भोगेका थिए । यसबीचमा बेलायती शोरुम र हङकङका शोरुमबाट किनेर अउडी, टेस्ला र ज्यागुअरका गाडी नेपाल आए । सुरुमा अउडीको ३ वटा इलेक्ट्रीक कार इट्रोन नेपाल आयो । पछि आधिकारीक वितरक बिना एउटा शोरुमबाट ल्याइएको गाडी नेपालको सवारीसाधन पैठारी ऐन विपरित रहेको समाचारहरु प्रकाशन भएसँगै व्यापारीले ल्याएका अउडी र टेस्ला तथा अन्य गाडी अहिलेपनि भन्सार मै थन्किएका छन् ।
चलाखी पूर्ण तरिकाले कागजपत्र तयारगरि ल्याइएका टेस्लाका २ गाडी भन्सार छुटेपनि पछि त्यसलाई फिर्ता गरिएको थियो । ज्यागुअरका केही गाडी पनि भन्सारमै थन्किए । यी परिघटनाले अर्थमन्त्रालयले लकडाउन सुरु भएपछि ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध मात्र लगाएन इलेक्ट्रीक कारमा लाग्दै आएको सबै किसिमका करमा वृद्धि गर्यो । यी घटनाले बजेटअघि नै इलेक्ट्रीक कारमा करका दरहरु केही बढ्ने अनुमान सुरु भएको थियो ।
चर्चामा एमजीका १२० गाडी
नेपालमा इलेक्ट्रीक कारहरु कोरिया र चीनबाट आयात हुने गरेको छ भने महिन्द्राले भारतबाट ल्याएर बिक्री गर्दै आएको छ ।
नेपालमा इलेक्ट्रीक कारको आयात सबैभन्दा धेरै २०१८ को अन्त्यतिरबाट सुरु भएको हो । हुन्डाई मोटर्सले उत्पादन गरेको कोना नेपालमा आएको चल्तिको ब्राण्डको क्रसओभर एसयूभी हो । हुन्डाईले ल्याएको कोना इलेक्ट्रीकलाई लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले एकैपटक ४० यूनिट गाडी आयत गरेर बिक्री सुरु गरेको थियो ।
त्यसअघि इलेक्ट्रीक गाडी बिक्री गर्ने कम्पनीहरु महिन्द्रा र बिवाइडीले ठूलो संख्यामा गाडी आयत गर्दैन थिए । त्यसको मुख्य कारण बजारमा माग नहुनु नै थियो ।
यसरी आउने गाडीहरु हाम्रा बिक्रेता कम्पनीहरुले अर्डर गरेको आधारमा कम्पनीले लट मिलाएर पठाउने गरेको पाइन्छ । यसरी एकै पटक धेरै गाडी आयात हुनुको मुख्य कारण विश्व बजारमा यी गाडीको उच्च माग हुनु र उत्पादकको उत्पादन क्षमता कम हुनु मुख्य विषय रहेको छ ।
अर्को बजार तताउनेगरि आएको इलेक्ट्रीक कार हो निरो । कोरियन निर्माता कियाले बजारमा ल्याएको निरो ४८० किलोमिटर रेञ्जका कारण चर्चामा आयो । सुरुमै कम्पनीले ७० यूनिट नेपाल ल्याएको थियो । कन्टिनेन्टल्स ट्रेडिङले नेपाल ल्याइरहेको निरोपनि एक लटमा ठूलै संख्यामा आउने गरेको थियो ।
अहिले कम्पनीले बैशाख १७ गते ४५ वटा इलेक्ट्रीक गाडी भन्सार छुटाएको थियो भने, जेठ ७ गते ७५ यूनिट गाडी छुटाएको हो ।
अब कुरागरौ एमजीको । एमजी नेपालमा इलेक्ट्रीक कार ल्याउने ५ औं कम्पनी हो । तर, हुन्डाई र कियाको बजारमा माग अनुसार गाडी उपलब्ध नभएको समयमा नेपाल आएको एमजी इजेडएस एसयुभीले निकै ठूलो सफलता हात पार्यो ।
हुन्डाई कोनाको तुलनामा करिब ५ लाख ५० हजार सस्तो र किया निरोको तुलनामा १६ लाखभन्दा बढी कम मूल्यको कारण इजेडएस नेपाली बजारमा सफल भएको हो ।
नाडा अटो शो २०१९ बाट बुकिङ सुरु गरेको भएपनि कम्पनीले पहिलो लट गाडी २०७६ मंसिरमा नेपाल ल्याएको थियो । सुरुमा ४० यूनिट गाडी नेपाल ल्याएको थियो भने दोस्रो लटमा ६६ यूनिट गाडी एकै पटक भन्सार छुटाएर ल्याएको थियो । यी गाडी कम्पनीले माघमा नै बिक्री गरिसकेको थियो ।
माघपछि बजारमा बुकिङ लिएका गाडी अहिले आएको आधिकारीक वितरक पारामाउन्ट मोटर्सको भनाई छ । अहिले कम्पनीले बैशाख १७ गते ४५ वटा इलेक्ट्रीक गाडी भन्सार छुटाएको थियो भने, जेठ ७ गते ७५ यूनिट गाडी छुटाएको हो । कम्पनीले अहिलेसम्म याे मोडलका २२६ यूनिट गाडी आयात गरेको भन्सारको तथ्यांकले देखाएको छ ।
व्यवसायीको नजर र आयात भएका गाडीको मूल्य
व्यवसायीले बजेट अगाडि आफुले कारोबार गर्ने बस्तुको कर बढ्ने वा घट्ने अनुमान गर्नु स्वभाविक हो । त्यो उसको अधिकार नै हो । तर, गाडी आयात भएको मितिसमेत हेक्का नराखी यही विषयलाई नीतिगत भ्रष्टचार भन्न मिल्ला वा नमिल्ला यो विषय जानकारहरुले बताउलान् । तर, कम्पनीले आयात गरेका गाडी महंगो मूल्य लगाएर बिक्री गर्छ वा पुरानै मूल्यमा बिक्री गर्छ भन्ने विषय चाहिँ गहन हो ।
कम्पनीले आफुले ल्याएको गाडी बुकिङ लिएर नै ल्याएकोले लकडाउन खुल्नासाथ डेलिभरी सुरु गर्ने र पुरानै मूल्यमा ग्राहकलाई दिने बताइसकेको छ । कम्पनीका जनरल मेनेजर सचिन अर्यालले मेरोअटोसँग भनेका छन्, ‘अहिले हामीसँग २०० बुकिङ छ । लकडाउन सकिएपछि पहिला बुकिङ गर्नेलाई सबै प्रक्रिया पुरागरेर पुरानै मूल्यमा गाडी दिने छौं ।’

