काठमाडाैं । विश्वका अटोमोवाइलसँग सम्बन्धित मिडियाहरुले समाचारमा विद्युतीय गाडीको ‘रेञ्ज’ (माइलेज)लाई हेडलाइन बनाइरहेका हुन्छन् । यसले गाडी निर्माता कम्पनीहरुलाई अतिरिक्त शक्ति दिन सक्छ भने, प्रतिस्पर्धी कम्पनीहरुको अगाडी हाँसोको पात्र पनि बनाउन सक्छ ।
विद्युतीय गाडीको रेञ्जका आधारमा नै मानिसहरुले आफ्नो जिवनसँग यसको तादम्यता खोज्ने हुन् । १४० किलोमिटर रेञ्ज दिने छोटो गाडीहरु सहरका लागि उपयुक्त हुन्छन् भने, ३५० किलोमिटरभन्दा बढी रेञ्ज दिने गाडीहरुले इन्धनबाट चल्ने गाडी सरह नै काम गर्ने छन् ।
विश्वमा नै देश अनुसार गाडीको रेञ्ज मापन गर्ने छुट्टै निकाय हुन्छ । संयुक्त राज्य अमेरिकामा ‘इन्भाइरन्मेन्ट प्रोटेक्शन एजेन्सी’ र भारतमा अटोमोटिभ रिसर्च एशोसिएसन अफ इन्डियाले बाटोमा गुड्ने गाडीहरुको रेञ्ज निर्धारण गर्ने जिम्मेवारी पाएका छन् । जर्मन, जापान जस्ता देशमा पनि छुट्टै निकाय बनाइएको छ । विद्युतीय गाडीको रेन्ज निर्धारण गर्ने प्रक्रिया पनि पुराना इन्धनबाट चल्ने गाडीहरुको माइलेज निर्धारण गरे जस्तै हो ।
यस्ता एजेन्सीहरुले गाडीहरु ‘डाइनामोमिटर’ (डाइनो) मा जाँच गर्ने गर्छ । डाइनो भनेको मानिसहरुले कसरतका लागि प्रयोग गर्ने ‘ट्रेडमिल’ जस्तै हो । डाइनोको प्रयोग गाडीका सबैखाले सूचनाहरु प्राप्त गर्नका लागि प्रयोग गर्न सकिन्छ । गाडीको ‘हर्स पावर’, माइलेज इत्यादी डाइनामो मै जाँचिने हुन् ।
डाइनोमा गाडीहरु विभिन्न ‘ड्राइभिङ साइलक’हरु (चरण)मा कुदाइन्छन् । विद्युतीय गाडीहरुको हकमा सहरी साइकल र हाइवे साइकल गरेर दुई ढंगले कुदाइन्छन् । सहरी साइकलमा गाडी चलाउने, बन्द गर्ने र फेरी चलाउने गरिन्छ । यो प्रक्रियाले गाडीको सहरको रेञ्ज (माइलेज) मापन गर्ने गर्छ ।
यसैगरी हाइवे साइकलमा गाडी हाइवेमा झै डाइनोमा कुदाएर गाडीको माइलेज नापिन्छ । यो साइकलमा गाडीको गति ५० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुदाइन्छ । यसले हाइवेमा गाडीले दिने रेञ्जको मापन गरिन्छ ।
विद्युतीय गाडीको रेञ्जको रेटिङ
विद्युतीय गाडीको रेञ्जको मापन बहु-साइकलमा परिक्षण गरेर गर्ने गर्छ । यसका लागि गाडी पूर्ण रुपमा चार्ज गर्ने, रातभरी पार्क गर्ने र भोलिपल्ट बिहान डाइनोमा गुडाउने गरिन्छ ।
त्यसपछि सहरी साइकल र हाइवे साइकलमा गरेर चार्ज नसकिउन्जेलसम्म डाइनोमा गाडी गुडाइन्छ । र, डाइनोले कति किलोमिटरसम्म विद्युतीय गाडी गुड्छ भनेर तथ्याङ्क संकलन गर्छ ।
त्यसपछि गाडी पूर्णरुपमा चार्ज गरिन्छ । त्यसपछि मिटरले पूर्ण रुपमा गाडी चार्ज हुन कत्तिको बिजुली खपत हुन्छ भनेर तथ्याङ्क संकलन गर्छ ।
तर, बन्द कोठामा गरिएको यो परिक्षणले गाडीको रेन्जको वास्तविक तस्वीर भने दिदैंन । उदाहरणको लागि टेस्लाको वाइ मोडलको गाडीले जाँच प्रक्रियामा ७२१ किलोमिटरको रेञ्ज दिन्छ भने बाटोमा त्यो भन्दा कम दिन्छ ।
त्यसैले यस्ता मापक एजेन्सीले वास्तविक रेञ्ज पत्ता लगाउनको लागि परिक्षणमा देखिएको माइलेज वा रेञ्जलाई ०.७ ले गुणा गर्ने गर्दछ । यसो गर्दा हामीले माथी चर्चा गरेको टेस्लाको गाडीको वास्तविक रेञ्ज ७२१ किलोमिटरबाट घटेर ५०५ किलोमिटर हुनपुग्छ ।


