मोटरसाइकलको चेन स्पोर्केट बचाउने ४ तरिका, यसरी थाहापाउनुस् समस्या

काठमाडौं । मोटरसाइकलको पछाडिको ह्वील र इन्जिन बीचलाई जोडेर मोटरसाइकलाई चलायमान बनाउन एक चेन दिइएको हुन्छ, यही चेनलाइ स्थिर अबस्थामा राख्न इन्जिन र पछाडि ह्वीलमा राखिने दाँती रहेको चक्कालाई चेन स्पोर्केट भनिन्छ ।

कतिपय अवस्थामा बाइकको चेनमात्र बिग्रिएको अबस्थामा समेत चेन स्पोर्केट बिग्रियो भन्ने गरेको पाइन्छ । चेन खराब हुनु र चेन स्पोर्केट खराब हुन फरक कुरा हुन् तर चेन र चेन स्पोर्केट एक अर्काका परिपुरक हुन् ।

कसरी थाहा पाउने चेन स्पोर्केट खराब भएको ?

सामान्यतया चेन स्पोर्केट विग्रिएको थाहा पाउने भनेको मोटरसाइकल चलाउँदा चेनबाट आउने आवाजले नै हो । हरेक बस्तुको निश्चित आयू रहेको हुन्छ । निश्चित समयसम्म मोटरसाइकल चलाइसकेपछि चेन स्पोर्केटको दातहरुको आकार घट्दै जाने गर्छ ।

नयाँ चेन स्पोर्केटमा रहेको दुई दाँतबीचको ग्याप सामान्य रहेको हु्न्छ । जब निश्चित किलोमिटर यात्रा गरिन्छ तब यी दातहरु बीचको ग्याप बढ्दै जाने हुन्छ ।

अर्को तरिका भनेको आफ्नो मोटरसाइकललाई डबल स्याण्डमा अडाएर न्यूट्रलमा राख्ने, त्यस पश्चात् एक हातले बाइकको पछाडिको ह्वीललाई घुमाउने र सँगै अर्को हातले लचकता मापन गर्ने । यसरी ह्वीलाई घुमाउँदै चेनको लचकता मापन गर्दा कतै चेन कडा र कतै चेन लच्किएको छ भने चेन स्पोर्केट खराब भएको थाहा पाउन सकिन्छ ।

कतिपय राइडरका अनुसार चेन स्पोर्केटमा खराबी आउँदा मोटरसाइकलको पिक अप तथा पावरसमेत परिर्वतन आउँछ ।

कसरी बचाउने चेन स्पोर्केट ?

मोटरसाइकलको चेन स्पोर्केट खराब भएको थाहा पाउने वित्तिकै यसलाई परिवर्तन गरिहाल्नु पर्छ । चेन स्पोर्केट खराब हुँदा पनि बाइक नचल्ने भन्ने हुँदैन । चलिरहेको छ भनेर यत्तिकै चलाउनु हुँदैन । समयमै परिर्वतन गरिएन भने यसले बाइकलाई अन्य असर पुर्याउँछ । यसकारण खराब भएको चेन स्पोर्केट जति सक्दो चाँडै परिवर्तन गर्नु पर्छ । यसले थप खर्च हुनबाट बचाउँछ ।

चेन स्पोर्केट बचाउने उपायहरु यस्ता छन्

आधिकारी सामान प्रयोग गर्ने

मोटरसाइकलमा कुनैपनि सामान परिर्वतन गर्दा आधिकारीक सामान मात्र परिर्वतन गर्ने गर्नु पर्छ । सुरुमा खरिद गर्दा अलि महंगो जस्तो लागेतापनि वास्तविकतामा यो सस्तो पर्न आउँछ । बजारमा पाइने सस्तो सामानको प्रयोग गर्दा समय समयमा यसले दुःख दिने हुन्छ ।

त्यसैले चेन स्पोर्केट जस्तो महत्वपुर्ण सामान जहिले पनि आधिकारीक नै प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले घरि–घरि खर्च गरिरहनु पर्ने भन्झटबाट मुक्क्त भइन्छ ।

चेन सफा गर्ने

हाम्रो जस्तो भौगोलिक अवस्था रहेको गाउँ गाउँमा चल्ने सवारी साधन भनेको मोटरसाइकल नै हो । सडकको अबस्था कमजोर हुने हिलो तथा धुलो हुने ठाउँमा मोटरसाइलको चेन र चेन स्पोर्केटमा जमेको धुलो र हिलोलाई समय समयमा पखाल्ने गर्नु पर्छ ।

हाल बजारमा चेन सफा गर्ने बिभिन्न स्प्रेहरु पाइन्छ । कम्पनीको आधिकारीक वर्कशपको सल्लाह अनुसार चेन क्लिनर प्रयोग गरेर चेन तथा चेन स्पोर्केट सफा राख्न सकिन्छ ।

चेन ल्यूव

हरेक पटक बाइक धोएपछि चेनमा ल्यूव लगाउने गर्नु पर्छ । ल्यूवको अलावा चेन स्प्रे ल्युव समेत प्रयोग गर्न सकिन्छ , तर कहिले ल्यूव र कहिले स्प्रे ल्यूव भने प्रयोग नर्गन इन्जिनियरहरुले सुझाव दिने गरेका छन् ।

बजारमा धेरै ब्रान्डको स्प्रे ल्यूवहरु पाइन्छ । कुनै एक विश्वासनिय ब्रान्ड प्रयोग गर्नु पर्छ । यसरी प्रयोग गर्दा सकेसम्म सधै एउटै ब्रान्ड प्रयोग गर्नु राम्रो मानिन्छ ।

चेनको हेरचाह गर्ने

चेन स्पोर्केट र चेन एक अर्काका परि पूरक हुन्छन । चेन स्पोर्केटको सेटमा दुई चक्का रहेको हुन्छ । एक चक्का मोटरसाइकलको पछिल्लो ह्वीलमा जडान गरिन्छ भने अको सानो चक्का इन्जिनको बाहिरी भागमा जोडिन्छ ।

धेरै जसो मोटरसाइकलको पछाडिको स्पोर्केट चक्का खुल्ला रहेको हुन्छ भने अगाडिको स्र्पोकेट चक्कालाई कभरले ढाकिएको हुन्छ । यसले गर्दा स्पोर्केटको फ्रन्ट चक्कामा माटो जम्ने हुनसक्छ र खिया लाग्ने हुन्छ । यसलाई हरेक पटक बाइक सर्भिसिङ गराउदा सफा गर्न लगाउनु पर्छ ।

यसका अलावा समय समयमा चेनको अवस्थालाई ध्यान दिनुपर्ने हुन्छ । चेनलाई धेरै टाइट गरेर चलाउँदा समेत चेन चाँडै खराव हुन्छ ।


Back_to_top