काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोग वृद्धिसँगै नयाँ नयाँ खोजहरु पनि भइरहेका छन् । विशेषगरी चिनियाँ आइटी जाइन्ट कम्पनीहरुले एकपछि अर्को सफ्टवयर विकास गरिरहेका छन् ।
हुवावेले हिजो फेब्रुअरी ३ तारिखमा आफ्नो पछिल्लो हेडअप डिस्प्ले देखाएको छ । कम्पनीले ‘एक्सएचयूडी–एआर’ नाम दिएको हेडअप डिस्प्ले अटोमोवाइल उद्योगमै नयाँ गेमचेन्जर हुने दावी गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नयाँ हेडअप डिस्प्लेले अन्य सवारी साधन र पैदल यात्रीहरुको सहजै पहिचान गर्नेछ । जसको कारण रातको समयमा ड्राइभिङ थप सुरक्षीत हुने हुवावेको भनाई छ ।
हुवावेले पहिलो पटक जर्मनीको म्यूनिखमा भएको ‘आइएए’ मोविलिटी एक्स्पोमा ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले देखाएको थियो । यसले गाडीभन्दा ७.५ मिटर अगाडिको बस्तुलाई ७० इन्चको भर्चुअल छवी सृजना गरेर देखाएको थियो । जसको कारण चालकलाई सहजक हुन मद्दत गर्छ ।
यसले सडकमा एक्कासी आउने गाल्डाखुल्डीको कारण निम्तन सक्ने दुर्घटनालाई पनि रोक्ने कम्पनीको दावी छ । साथै, ब्लाइन्ड स्पटहरुमा आउने सवारी साधनको चेतावनी पनि यसमा पाउन सकिन्छ ।
हुवावेले एसएआइसी, बीएआइसी, सेरेस, चांगान, चेरी, बीवाइडी र जेएसी जस्ता ब्राण्डले बनाएको कारमा हेडअप डिस्प्ले उपलब्ध गराउँदै आएको छ । चाँडै यी ब्राण्डका साधनमा नयाँ गेमचेन्जर हेडअप डिस्प्ले उपलब्ध हुनेछ ।


