एमजी एस-५ र हुन्डाई क्रेटा ईभीमा कुन ठिक ? यस्ता छन् भिन्नता

काठमाडौं । नेपाली बजारमा सर्वाधिक सफल मध्येका इलेक्ट्रीक कार ब्राण्ड एमजी र हुन्डाई आमने सामने हुने भएका छन् । यी दुबै ब्राण्डले एकैसाथ नयाँ मोडल बजारमा उतार्ने तयारी गरेका हुन् ।

एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले जनवरी अन्तिममा नै बुकिङ खुला गर्ने तयारी गरेको भएपनि गाडी आइपुग्न केही ढिला हुँदा बुकिङ खोल्न सकेन । एमजीको नयाँ एसयूभी एस-५ अबको केही दिन भित्रै काठमाडौं आउने कम्पनीको भनाइ छ । गाडी आउने वित्तिकै टेस्ट ड्राइभ र बुकिङ खुला हुने कम्पनीले जानकारी दियो ।

‘हामी चाँडै गाडीको बुकिङ खोल्दैछौ । चिनियाँ नयाँ वर्षको कारण केही दिन ढिला भयो । मार्चबाट ग्राहकलाई डेलिभरी दिनेगरी बुकिङ खोल्न लागेका हौं’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर सुनिल क्षेत्रीले भने ।

हुन्डाईले पनि आफ्नो बहुप्रतिक्षित मोडल क्रेटा ईभी बिक्री सुरु गर्न लागेको छ । कम्पनीले फेब्रुअरी अन्तिममा क्रेटा ईभीको बिक्री सुरु गर्न लागेको हो । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटाको डेलिभरी नै फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ ।

‘हामी केही दिनमै बुकिङ खोल्छौं । फेब्रुअरी अन्तिमबाट त गाडी डेलिभरी नै गर्ने योजना रहेको छ । त्यसैको तयारीमा हामी छौं’, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल मेनेजर दीपक थपलियाले भने ।

बजारमा आउन लागेका यी दुई मोडलमा रहेका भिन्नता हेरौं । जसले यी दुई मध्ये तपाईको लागि उपयुक्त मोडल कुन हुनेछ भन्ने छुट्टाउन सहज हुनेछ ।

ब्याट्रीमा फरक

एमजीले एस-५ लाई ४९.१ र ६२.२ किलोवाट आवर एलएफपी ब्याट्रीमा ल्याउने छ । यी दुबै ब्याट्रीको सिएलटीसी रेन्ज ४२५ र ५२५ किलोमिटरसम्म रहेको छ । रियर वर्ल्डमा भने रेन्ज फरक हुनेछ ।

हुन्डाई क्रेटा ईभी ४२ र ५१.४ किलोवाट आवरको एनसीएम ब्याट्री प्याकमा आउने छ । एआरएआईका अनुसार क्रेटा ईभीको सानो ब्याट्रीले ३९० र ठूलो ब्याट्रीले ४७३ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । यसको पनि रियर वर्ल्ड रेन्ज भने कमै हुनेछ ।

मोटर पावर

अन्तर्राष्ट्रिय बजारमा फरक पावरको साथ उपलब्ध हुने यी दुबै मोडल नेपालमा भने एउटै साइजको मोटरमा उपलब्ध हुनेछन् । एमजी र हुन्डाई दुबैले आफ्नो नयाँ आउने एसयूभीलाई ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएर ल्याउन लागेका हुन् ।

टर्क भने दुबै गाडीमा फरक रहनेछ । हुन्डाई क्रेटाको टर्क २५५ एनएम छ भने एमजी एस-५ को पीकटर्क २५० एनएम रहेको छ ।

ड्राइभ सिस्टम

हुन्डाईले क्रेटा ईभीलाई फ्रन्ट ह्वील ड्राइभ सिस्टमको साथ बजारमा ल्याउने छ । जबकी एमजी एस-५ रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुनेछ ।

हुन्डाई क्रेटा इन्टरनल कम्बस्चन इन्जिन भएको क्रेटाकै प्लेटफर्ममा बनेको हो । एमजी एस-५ भने आफ्नो प्योर ईभी प्लेटफर्ममा बनेको मोडल हो ।

ग्राउन्ड क्लियरेन्स र बडी साइज

एमजीले एस-५ मा १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिएको छ । जबकी हुन्डाईले क्रेटा ईभीमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिएको छ ।

एमजी एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

क्रेटा ईभीको लम्बाइ ४३४० एमएम, चौडाइ १७९० एमएम र उचाइ १६५५ एमएम छ । यसमा २६१० एमएम लामो ह्वीलबेस पाउन सकिने छ ।

अन्य फिचर

अन्य फिचरको लडाईमा दुबै गाडी उस्तै छन् । दुबै गाडीमा एडास लेभल २ पाउन सकिन्छ । ३६० डिग्री क्यामेरादेखि पानारोमिक सनरुफसम्म दुबै एसयूभीमा छन् ।

प्रिमियम सिट उपलब्ध हुने दुबै एसयूभीमा भ्यान्टिलेटेड सिट पाउन सकिन्छ । साथै, हुन्डाईले वेलकमसहितको मेमोरी सिट दिएको छ । एस-५ को सिटका बारेमा धेरै जानकारी बाहिर आएको छैन ।

दुबै एसयभूको ड्यासबोर्डमा ड्यूल स्कृन उपलब्ध छ । मल्टी ड्राइभ मोड क्रेटामा पाउन सकिन्छ । एमजी-५ मा पनि ४ किसिमको ड्राइभ मोड दिइएको छ ।


Back_to_top